अछाम: अछामको कमलबजारमा हावाबाट निकालिएको विजुली उत्पादन बन्द भएको छ । हावाबाट पङ्खालाई घुमाएर टर्वाईनको माध्यमले ब्याट्री चार्ज भई विजुली निकालिँदै आएकोमा टर्वाईन लगायत अन्य पार्टमा समस्या देखिएपछि विजुली उत्पादन बन्द भएको हो ।
कमलबजारमा हावाबाट विजुली निकालेर गाउँलाई उज्यालो बनाइएको थियो । एउटा टर्वाईनमा देखिएको समस्याले विगत केही वर्षदेखि हावाबाट विजुली उत्पादन बन्द भएको छ । कमलबजारमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, कमलबजार नगरपालिका र स्थानीयको श्रमदान गरी करिब दुई करोड लागतमा हावाबाट विजुली निकाल्ने परियोजनाको काम सुरु भएको थियो । १५ किलोवाट क्षमता हावाबाट र १५ किलोवाट विद्युत सोलारबाट गरी जम्मा ३० किलोवाट क्षमताको विद्युत उत्पादन भएको थियो ।
नगरप्रमुख यज्ञ प्रसाद ढकालका अनुसार बजार क्षेत्रका दुई सय घरधुरीले हावाबाट निकालिएको विजुली बाल्न पाएका थिए । करिब पाँच हजार जनसङ्ख्या लाभाविन्त भएका थिए । हाल उक्त परियोजना बन्द भएको छ । ढकालले त्यसको मर्मतका लागि वैकल्पिक उर्जा प्रवर्धन केन्द्रमा पत्र पठाइएको बताए । उनले वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले प्रदेशमा पठाएको र सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाएको बताए ।


