धनगढी: कैलाली जिल्ला खेलकुद समितिद्वारा हालै नियुक्त प्रदेश युवा परिषद् सुदुरपस्चिमका उपाध्यक्ष गजेन्द्र सावदलाई एक विशेष कार्यक्रममार्फत स्वागत तथा सम्मान गरिएको छ। कार्यक्रम मंगलबार धनगढी स्थित खेलकुद समितिको कार्यालयमा आयोजना गरिएको हो।
सावदलाइ माला, खादा सहित समितिका कर्मचारी एवं प्रशिक्षक तथा खेलाडीहरुले स्वागत गरेका थिए । खेलकुद समिति कैलालीका कार्यालय प्रमुख आश्रम केशिको अध्यक्षतामा आयोजित कार्यक्रममा समितिका कर्मचारी तथा खेल क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो । नवनियुक्त उपाध्यक्षलाई दोसल्ला ओढाई तथा मायाको चिनो प्रदान गर्दै आगामी कार्यकालका लागि सफलताको शुभकामना दिइएको थियो।
सो अवसरमा समितिका कार्यालय प्रमुख आश्रम केशिले भने, “हाम्रो जिल्ला तथा प्रदेशस्तरको युवा तथा खेलकुद क्षेत्रमा उहाँको भूमिका प्रभावशाली रहने विश्वास लिएका छौँ। उहाँको नेतृत्वमा युवा आवाज अझ बलियो ढंगले अगाडि बढ्ने अपेक्षा गरेका छौँ ।”
नवनियुक्त उपाध्यक्ष सावदले सम्मान कार्यक्रममा बोल्दै युवा सशक्तीकरण, खेलकुद विकास तथा नीति निर्माणमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाए। उनले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर युवाहरूको क्षमता अभिवृद्धि गर्ने योजना रहेको बताएका थिए। कार्यक्रममा विभिन्न खेलकर्मी, युवा संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।


