धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् जोखिम न्यूनीकरणसम्बन्धी सूचना प्रवाह सशक्त हुनु पर्ने बताएका छन् ।
धनगढीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जोखिम सञ्चारमा मिडियाको भूमिका सवलीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन्। मन्त्री सार्कीले सुदूरपश्चिममा विपद्को उच्च जोखिम रहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणमा पत्रकारको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गरे ।
उनले भने, “विपद् र विपद् जोखिम न्यूनीकरणसम्बन्धी समुदायलाई सजग गराउनेदेखि लिएर सरकारलाई घचघच्याउने कार्य पत्रकारले गर्नु पर्दछ ।”
मन्त्री सार्कीले विपद्बाट धन सम्पत्तिको क्षति रोक्न नसके पनि समयमै उपयुक्त सूचना प्रवाह गरेर मानवीय क्षति रोक्न सकिने उल्लेख गरे । उनले बाढी विपद्को कारक मानिस नै रहेको बताए । “पानी निकासको बाटो ब्लक भएको छ । त्यसले विपद्को सामना गर्नु परिरहेको छ”, सार्कीले भने ।


