धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले अवण्डा (डल्लो) बजेट राख्ने परिपाटी कायमै राखेको छ । आर्थिक बर्ष २०७९,८० मा धनगढी उपमहानगरपालिकाले करोडौँ अवण्डा (डल्लो) बजेट राखेर कार्यपालिका बैठकको निर्णयबाट बिभिन्न उपकरण खरिद गरेको छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार धनगढी उपमहानगरपालिकाले सो आर्थिक बर्षमा साढे ३ करोड अवण्डा (डल्लो) बजेट राखेर खर्च गरेको पाइएको छ ।
स्थानिय सरकार सञ्चालन ऐन २०७४ बमोजिम आर्थिक अवस्था समेतको आधारमा बजेट तथा कार्यक्रमको प्रार्थमिकिकरणका आधार तयार गरी श्रोत अनुमान तथा सिमा निर्धारणका आधारमा अवण्डा (डल्लो) नराखी आय ब्ययको अनुमान पेस गर्नुपर्ने ब्यवस्था छ । धनगढी उपमहानगरपालिकाले सो ब्यवस्था बिपरित गत आर्थिक बर्षमा ३ करोड ५० लाख अवण्डा (डल्लो) राखी कार्यपालिकाको निर्णयबाट खर्च गरेको छ ।
उपमहानगरपालिकाले अवण्डा (डल्लो) बजेटबाट टिप्पर संचालन(जेसिबी, लोडर लगायत) मा ४० लाख, सवारी साधन खरिदमा ८५ लाख, टिप्पर सञ्चालन खर्च ४० लाख र अपागंता सहायक सामग्री वितरणमा २३ लाख खर्च गरेको छ । यस सगैं बिभिन्न उपकरण खरिद तथा कार्यक्रमका लागी उपमहानगरपालिकाले साढे ३ करोड अवण्डा (डल्लो) बजेट कार्यपालिका बैठकबाट निर्णय गरी खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।


