धनगढी : कैलालीको कैलारी गाउँपालिकाले वडा अध्यक्षकै नाममा पेश्की रकम दिएको पाइएको छ । महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख भए अनुसार कैलारी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष दिपेन्द्र बमका नाममा साढे ३ लाख पेश्की निकासा भएको उल्लेख छ । गाउँ कार्यपालिकाका प्रवक्ता समेत रहेका बमले ५ पटक गरी साढे ३ लाख पेश्की बुझेका छन् । आर्थिक बर्ष २०८०/८१ को प्रतिवेदनमा वडा अध्यक्ष, गाउँपालिका अध्यक्षका स्वकिय सचिव जितेन्द्र चौधरी सहित बिभिन्न ब्यक्ती तथा संस्थाका नाममा १ करोड ३४ लाख ६२ हजार ५ सय ५३ रुपयाँ पेश्की वितरण भएको उल्लेख छ ।
वडा अध्यक्ष बमले २०८० जेठ ३१, असार ५ र असार १३ मा ३ वटा पेश्की गरी ३ लाख ५० हजार रकम लिएका छन् । यस्तै डि.एस कन्सटक्सनले ६ लाख, प्रतिभा निर्माण सेवाले ८ लाख ८० हजार, सुभम कन्सटक्सनले २ लाख ३० हजार पेश्की लिएको उल्लेख छ । यस्तै बिष्णु प्रसाद चौधरीले २ लाख, नेपाल प्रेस युनियनले ५० हजार, श्याम सुन्दर माझीले २ लाख, नेपाल बिधुत प्राधिकरणले २ लाख ५० हजार, जितेन्द्र चौधरीले २५ हजार, पहुरा मिडियाले ९० हजार, लक्ष्मी माध्यमिक बिद्यालयले १४ लाख २७ हजार ५ सय र रोयल कन्सटक्सनले ९३ लाख ४ हजार ५३ रुपयाँ पेस्की लिएका छन् । यिमध्ये यस्तै डि.एस कन्सटक्सन, प्रतिभा निर्माण सेवा, सुभम कन्सटक्सन र रोयल कन्सटक्सनको म्याध नाघेको छैन । अरु सबैले म्याध नाघिसक्दासम्म पेश्की फच्र्यौट गरेका छैनन् । हालसम्म २४ लाख १२ हजार ५ सय पेश्की फच्र्यौट हुन सकेको छैन ।
आर्थिक कार्यबिधि तथा बित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ५० मा कुनै ब्यक्ती, फर्म वा संस्थालाई उपलब्ध गराएको पेश्की रकम तोकिएको म्याद भित्र फच्र्यौट हुनुपर्छ तर पालिकाले उपलब्ध गराएको सो पेश्की अझै फस्र्चौट हुन नसकेको हो । झन वडा अध्यक्षलेनै पेश्की लिएर फिर्ता नगर्दा जनप्रतिनिधीको नैतिकता माथी प्रश्न उठेको छ ।



