धनगढी : कैलालीको कैलारी गाउँपालिकामा चरम बेथिति देखिएको छ । महालेखा परिक्षकको प्रतिवेदनमा अधिकाशं क्षेत्र सुधार गर्नुपर्ने देखाएको छ । गाउँपालिकाले मृत्यु भइसकेका २९ जनाको नाममा सामाजिक शुरक्षा भत्ता निकासा गरेको पाइएको छ । सामाजिक सुरक्षा कार्यविधि २०७७ को नियम १५ को ९४० मा मृत्यु भइसकेका व्यक्तिले मृत्यु भएको दिनसम्मको भत्ता निजको हकवालाले पाउने व्यवस्था छ । कैलारी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि रकम निकासा गरेकोमा बैंकले बुझाएको भरपाईमा मृत्यु भइसकेका व्यक्तिको खातामा समेत नगद जम्मा गरेको पाइएको हो ।
गाउँपालिकाले वडा नम्बर १ का बिसना बिश्वकर्मा, दिनु सार्की, सुकुनी डगौरा थारु, बसौना डगौरा थारु, वडा नम्बर ८ का डिगिया डगौरा थारु, खन्टुरंगिया डगौरा थारु, गटी डगौरा थारु, वडा नम्बर २ का खुशिराम डगौरा थारु, टिकाराम डगौरा थारु, प्रशादे सुनार, असिया डगौरा थारु, बलमु डगौरा थारु, लबरी डगौरा थारु, छेदुराम डगौरा, कोदुराम डगौराका नाममा सामाजिक शुरक्षा भत्ता निकासा गरेको छ । यस्तै वडा नम्बर ५ की जुनकिरि भुल, बेझुराम चौधरी, चतरी डगौरा, डम्मरलाल चौधरी, तिलकमेटी देवी डगौरा, दुखीराम डगौरा, दिमनी डगौरा, फुलमती देवी डगौरा, पुनसिया देवी डगौरा, दुर्योधन चौधरी, वडा नम्बर ६ का बिर बहादुर डगौरा थारु, जानकी डगौरा थरुनी, वडा नम्बर ७ का बुधिराम डगौरा र लाहानी डगौराका नाममा मृत्यु भइसकेपछि भत्ता निकासा गरिएको पाइएको हो । गाउँपालिकाले २९ जना मृत्यु भइसकेका ब्यक्तीहरुका नाममा ९७ हजार ८ सय ८८ रुपयाँ निकासा भएको पाइएपछि महालेखाले सम्बन्धीत खाताबाट रकम फिर्ता ल्याई सचिंत कोषमा जमा गर्न निर्देशन दिएको छ ।
समय आगावै पोषाक भत्ता
गाउँपालिकाले समय अगावै कर्मचारीलाई पोषाक भत्ता बाँडेको पाइएको छ ।स्वास्थ्य सेवाका ५७ जना कमचारीलाई समय अगाबै पोशाक भत्ता भुक्तानी गरिएको छ। निजामती सेवा नियमावली २०५० को नियम ११९क (३) मा नेपाल सरकारले तोके बमोिजमको पोशाक भत्ता प्रत्येक वर्षको चैत्र महिनाको तलवसगैँ भुक्तानी गर्ने व्यवस्था छ । पालिकाले यस वर्षको स्वास्थ्य सेवाका ५७ जना कमचारीलाई माघ महिनामै पोशाक भत्ता उपलब्ध गराएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । नियमावलीले तोकेको समयमा पोशाक भत्ता भुक्तानी गर्नुपर्नेमा पालिकाले समय अगाबै भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
नाफामुलक संस्थालाई अनुदान
गाउँपालिकाले नाफामुलक संस्थालाई सुटुक्क तीन लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको खुलेको छ । गाउँपालिकाले ऐन विपरीत दुईवटा नाफामुलुक संस्थालाई तीन लाख ५० हजार रुपैयाँ अनुदानको रुपमा उपलब्ध गराएको हो । जबकी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७६ मा वितरणमुखि खर्चलाई नियन्त्रण गर्दै संघ तथा प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार निर्माण हुने कार्यमा खर्च गर्नेपर्ने उल्लेख छ ।
तर कैलारी गाउँपालिकाले भने सो कार्यविपरीत दुईवटा नाफामुलुक संस्थालाई अनुदान वितरण गरेको छ। मापदण्ड र आवश्यक कार्यविधि नबनाएर गाउँपालिकाले आफुअनुकुल बजेट खर्च गर्दै आएको छ । गाउँपालिकाले गत वर्षको बैशाख १५ गते बर्का बनवुा दूना टपरी तथा हस्तकला उद्योगलाई दुई लाख र बसन्त ऋतु सहकारी संस्था लिमिटेडलाई एक लाख ५० हजार रुपैयाँ अनुदान वाफत रकम उपलब्ध गराएको छ ।
जुन ऐन विपरीत वितरण गरिएको रकम हो। त्यस्तै मापदण्ड विपरीत शुभकामना सन्देशको नाममा पनि सो गाउँपालिकाले एक लाख ४२ हजार पाँच सय रुपैयाँ भुक्तानी गरेको छ । यसका साथै गाउँपालिकाले ६० हजार रुपैयाँ दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले स्पेसिफिकेशनबिना ६ लाख ५० हजार मुल्यका विज्ञान प्रयोगशाला खरिद गरेको समेत खुलेको छ ।


