धनगढी: कैलालीको घोडाघोडी नगरपालिका १ सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो जग्गा खाली गराउन शुक्रबारदेखि डोजर प्रयोग गरेको छ । विद्यालयको जग्गा भाडामा लिएर बस्दै आएकाहरूलाई पटक–पटक जग्गा खाली गर्न विद्यालय प्रशासनले ताकेता गर्दा पनि खाली नभएपछि स्थानीय प्रहरी प्रशासन, नगरपालिकाको समन्वयमा डोजरको प्रयोग गरी विद्यालयको जग्गा खाली गराउन थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालले बताए ।
विद्यालयको जग्गामा संरचना नै बनाएर व्यापार व्यवसाय तथा बसोबास गर्नाले विद्यालय प्रयोजनका संरचना निर्माणमा कठिनाइ भएपछि पटक–पटक जग्गा खाली गराउन सूचना जारी गरेको थियो । अध्यक्ष हमालले विशेष विद्यालय निर्माणका लागि दुई करोड ५३ लाख रुपियाँ रकम खातामा झरेको भए पनि विद्यालयको जग्गाखाली नहुँदा उक्त योजना अगाडि बढाउन नसकिएको बताए ।
विद्यालयलय जमिन खाली गर्न गत माघ ९ गते ३५ दिने सूचना जारी गर्दै क्रमशः २१ दिने, ७ दिने हुँदै ७२ घण्टे सूचना जारी गर्दासमेत खाली गर्न अन्तिम उपायका रूपमा डोजर प्रयोग गर्नु परेको विद्यालयका निमित्त प्रधानाध्यापक रामप्रसाद गौतमले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षकलगायत स्थानीय व्यापारीहरू संरचना हटाउने कार्यमा खटिएका थिए ।


