धनगढी। सुदूरपश्चिम प्रदेशमा सशस्त्र प्रहरीले एक बर्ष अवधिमा ८ करोड बढीका अवैध सामान बरामद गरेको छ । सुदूरपश्चिममा सशस्त्र प्रहरी बल नेपाल वैद्यनाथ बाहिनी तथा मातहतका कार्यालयहरुले एक वर्षको अवधीमा ८ करोड ३६ लाख ३३ हजार ६ रुपैयाँका अवैध सामग्रीहरु बरामद गरेको हो।
एक वर्षमा गरेका कामको उपलब्धि सार्वजनिक गर्दै सशस्त्र प्रहरीले गत वर्ष माघ देखि हालसम्म उक्त रकम बराबरका अवैध सामग्रीहरु बरामद गरेको जनाएको छ। सोही क्रममा तीनवटा हतियार र तीन दशमलव ५ किलोग्राम लागुऔषध बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल वैद्यनाथ बाहिनीका बाहिनीपति कुमार न्यौपानेले जानकारी दिए।
उनका अनुसार सशस्त्र प्रहरीले मानव बेचिविखन सम्बन्धी ३१ वटा घटनाहरु निराकरण गरेको छ। गत वर्षको माघदेखि सशस्त्र प्रहरी बल नेपाल बैद्यनाथ बाहिनी र मातहतका कार्यालयहरुबाट २० हजार २०१ वटा एकल र ६२५ वटा संयुक्त गस्तीहरु गरिएको प्रगति विवरणमा उल्लेख छ। कार्यविवरणमा उल्लेख गरिए अनुसार १६९ वटा सीमा स्तम्भ मर्मत, २४९ वटा जनचेतनामुलक कार्यक्रम र २७७ वटा सरसफाई सम्बन्धी कार्यक्रम सशस्त्र प्रहरीले गरेको छ।
सामाजिक कार्य अन्तरगत सशस्त्र प्रहरीले रक्तदान कार्यक्रम,स्वास्थ्य शिविर कार्यक्रम पनि आयोजना गरेको बताईएको छ। जसअनुसार रक्तदान कार्यक्रममा २४६ जना सहभागी भएका थिए। सयौँको संख्यामा स्वास्थ्य शिविरबाट स्थानीयहरुले सेवा लिएका थिए। सशस्त्र प्रहरीले एक वर्षकै अवधीमा ३७३ जना जीवित व्यक्तिहरुको उद्धार गरेको छ भने १३८ चोटी स्थानीय सरोकारवालाहरु सँग समन्वयात्मक कार्यक्रम गरेको जनाएको छ।


