धनगढी। नेपाल टेलिकमको तामाजन्य (स्क्रप कपर केबल) कवाडी सामानको लिलाम बिक्रीमा अनियमितता भएको घटनाको थप अनुसन्धानका लागि कैलाली जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिएको बताए । गेटा कार्यालयबाट राजश्व छलेर निर्धारितभन्दा झण्डै दोब्बर तौलको तामाजन्य सामान लोड गरेर नेपालगञ्ज लैजादै गर्दा गत आइतबार सुरक्षाकर्मीले दुई वटा ट्रकलाई बीच बाटोबाटै नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रजिअ मिश्रले प्रशासकीय अधिकृत शिवराज जोशीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तीन वटा सुरक्षा निकायका प्रतिनिधिसम्मिलित ६ सदस्यीय छानवीन समिति गठन गरेका थिए ।
छानविन समितिले नियन्त्रणमा लिएका ट्रकहरुमा रहेको सामान पुनः तौल गर्दा टेलिकमको कार्यालयमा दाखिला गरिएको भन्दा १२ हजार ५७१ किलो (१२.५७१ टन) बढी तौलको सामान फेला पारेको थियो ।टेलिकमको दुरसंचार कार्यालय गेटाबाट १५ हजार ६ सय ७९ किलो (१५.६७९ टन) बिक्री गरेर निकासा गरिएको अभिलेख छ । तर पुनः तौल गर्दा २८ हजार २५० किलो (२८.२५० टन) सामान फेला परेको थियो।
ठेक्का सम्झौता अनुसार टेलिकमले लिलाम बिक्री गरेको उक्त तामाजन्य सामग्रीको बिक्रि मूल्य प्रति टन भ्याटसहित आठ लाख ५० हजार ८९० रुपैया पर्छ । जस अनुसार बढी तौल छलेर निकासी भएको परिमाणको मुल्य एक करोड ६ लाख ९६ हजार रुपैया हुन आउछ । जो टेलिकमलाई नोक्सान भएको स्पष्ट छ ।निर्देशनालयका अनुसार प्रवल थापाको नाममा रहेको बिएलएस कन्स्ट्रक्सन काठमाण्डौं नामक कम्पनीले प्रादेशिक निर्देशनालयसँग ९६ टन कवाडी खरिदको सम्झौता छ । टेलिकमको सम्पर्कमा कम्पनीको तर्फबाट श्याम कुमार जैसवालले कारोबार हेर्ने गरेका छन् ।
उक्त कम्पनीले टेलिकसँग प्रतिकिलो भ्याटसहित ८ सय ५० रुपैया ८९ पैसामा खरिद सम्झौता गरेको छ । ठेक्का सम्झौता अनुसार टेलिकमले लिलाम गरेको उक्त तामाजन्य सामग्रीको बिक्री मूल्य प्रति टन भ्याटसहित आठ लाख ५० हजार ८९० रुपैया पर्छ । ठेकेदार कम्पनीले निर्देशनालयका अनुसार कम्पनीले टेलिकमका विभिन्न कार्यालयहरुबाट हालसम्म ६७ हजार २४९ किलो सामान उठाइसकेको अभिलेख छ ।
रा.१ ख ३२०६ नम्बरको लोड ट्रक ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । अर्को ना ६ ख ४६० नम्बरको ट्रक सशस्त्र प्रहरीको टोलीले कैलालीको टोलीले कैलालीको हसुलियाबाट नियन्त्रणमा लिएको थियो । दुबै ट्रकको सामान नेपालगञ्ज लिइदै थियो ।सुरक्षा स्रोतका अनुसार जिल्ला प्रशासनद्धारा गठित छानवीन समितिले काम सुरु गरेदेखि नै टेलिकम र ठेकेदार सम्वद्ध पक्षले समितिका पदाधिकारीहरुलाई चर्को दबाबमा राखेका थिए ।
‘टेलिकमका उच्च अधिकारीसहितको मिलेमतोमा घोटाला गराउने प्रयास भएको हो । यसका कार्यमा सुरक्षा संयन्त्र, राजनीतिक क्षेत्रका प्रतिनिधिहरु घोटाला दबाउन सक्रिय छन्’ एक सुरक्षा अधिकृतले भने ‘जिल्ला प्रहरी कार्यालयका अधिकृतहरुलाई सत्यतथ्य ढाकछोप गराउन चर्को दबाब छ ।’प्रहरी प्रमुख एसपी देबेन्द्रबहादुर पालले घटनाको थप अनुसन्धान हुने बताए ।


