धनगढी। राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागी सुदूरपश्चिमबाट उम्मेदवार बनेकाहरूले आज सोमबार उम्मेदवारी दर्ता गराएका हुन्।
धनगढीस्थित निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालय धनगढीमा सत्तारुढ गठबन्धन र एमालेका उम्मेदवारको उम्मेदवारी दर्ता गरिएको हो। निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टका अनुसार सत्तारुढ गठबन्धनबाट काँग्रेसले अन्यबाट कञ्चनपुरका बलदेव बोहरा र अपाङ्ग तथा अल्पसङ्ख्यक कैलाली कांग्रेसका सभापति नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गरेका छन्।
बोहरा कांग्रेसका कञ्चनपुर सभापति, जिल्ला विकास समितिका सभापति र संविधान सभा सदस्य पनि भइसकेका छन् । यस्तै, कैलालीका भट्ट दोस्रो जनआन्दोलनबाट घाइते भएर अपाङ्गता भएका थिए ।यस्तै, सत्ता गठबन्धनबाटै महिलाबाट माओवादी केन्द्रका रेनु चन्दले उम्मेदवारी दर्ता गरेकी छिन् । चन्द २०६४ सालको संविधान सभा सदस्य पनि छिन् ।
एमालेबाट अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, महिलाबाट कैलालीकी सावित्री घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यक कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवारी दर्ता गराएका छन्। खरेल केन्द्रीय लेखा आयोग सदस्य छन् भने घिमिरे अनेमसङ्घ कैलालीकी पूर्वअध्यक्ष छिन् । जोशी एमालेको भ्रातृ सङ्गठन अपाङ्ग सङ्घका केन्द्रीय सदस्य छन् ।सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यका सदस्यहरू नेकपा (माओवादी केन्द्र)का हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा (एमाले) का इन्दु कडरियाको पदावधि सकिन लागेको हो।
माघ ११ गते बिहीवारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार हिजो (आइतबार) सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको थियो। सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम भएका छन्।


