कैलाली। सुदुरपश्चिम प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएको एक वर्ष पुरा भएको छ। गत २०७९ मंसिर ३ गते भएको निर्वाचनबाट निर्वाचित ५३ जना प्रदेशसभा सदस्यहरुले पुस १५ गते पद तथा गोपनियताको सपथ लिएका थिए।
यो पछिल्लो एक बर्षमा निर्वाचित प्रदेशसभा सदस्यहरुले जनतामाझ गरेका बाचा होस् या कानुन निर्माण गर्ने कुरामा ध्यान दिन नसकेको आरोप प्रदेशबासीको छ । झन् प्रदेश सभाको बैठक नबसेको महिनौँ भैसकेको छ। मुख्यमन्त्रीको बिश्वासको मत सम्बन्धी र सभामुखरउप सभामुखको निर्वाचन तथा बजेट सम्बन्धी अनिवार्य बनाउनैपर्ने कानुनबाहेक प्रदेशसभाले १ बर्षसम्म अरु कुनै कानुन बनाउन सकेको छैन।
हिउँदे अधिवेशनमा मुख्यमन्त्रीका लागि विश्वासको मत दिने, सभामुख उपसभामुखको निर्वाचन गर्ने तथा बर्खे अधिवेशनमा बजेट पारित गर्ने बाहेकको काम प्रदेश सभाबाट हुन सकेको छैन । कानुन बनाउनु पर्ने मुख्य जिम्मेवारीबाट प्रदेश सभा पञ्छीएको आरोप छ। सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक असोज २४ गते पारित भएको थियो।
विनियोजन विधेयक र सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक असार ३० गते पारित भएको थियो भने सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक जेठ २१ गते पारित भएको थियो। त्यस बाहेक कानुन निर्माणका सन्दर्भमा पहिलो एक वर्ष निष्क्रिय रहेको देखिएको छ ।प्रत्येक वर्ष बजेट पारित गर्दा आवश्यक पर्ने दुई कानुन पारित भएर प्रमाणीकरण भएका छन् भने अन्य दुई कानुन संशोधन गरिएको छ।
त्यस बाहेक अहिले सम्म न नयाँ कानुन तयार भएको छ नत प्रदेश सभामा विधेयक पनी दर्ता नभएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । यस्तै सुदूरपश्चिममा चार वटा विषयगत समिति अहिले सम्म पनि नेतृत्व विहीन रहेका छन् । प्रदेशसभा सदस्य तारा जोशीले प्रदेश सरकार गृह कार्य कुरेर बसेको विद्यार्थीजस्तो पूरै अलमलमा रहेको बताएका छन् । प्रदेश सरकार अलमलबाट मुक्त हुन सक्ने नदेखीएको र योजना, धारणा नभएको अकर्मण्य सरकार जस्तो रहेको उनको भनाई छ।प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु तलब खान र भ्रमण गर्नमा मात्र ध्यान गइरहेको उनले भने । बैठक सञ्चालन देखी के कसरी काम गर्ने र योजना लागु कसरी गर्ने भन्ने चिन्ता नै नभएको उनको भनाई छ ।
कानुन निर्माणमा सुस्त रहेको सुदूरपश्चिम प्रदेशमा सेवा सुविधामा करोडौँ खर्च भएको पाइएको छ । पहिलो एक वर्षमै ६ करोड बढी खर्च भएको पाइएको छ। प्रदेश सभा सदस्यहरूको सेवा पारिश्रमिकमै सबै भन्दा ठुलो रकम प्रदेश सभाले दिइरहेको छ । एक वर्षमा २ करोड ९० लाख भन्दा बढी प्रदेश सभा सदस्यहरूले पारिश्रमिक बुझेका छन्। प्रदेश सभा सदस्यका स्वकीय सचिवले यो एक वर्षमा झन्डै २ करोड पारिश्रमिक बुझेको देखिएको छ।
औषधी खर्च, पदाधिकारी बैठक भत्ता, पदाधिकारीको अन्य सुविधा, पदाधिकारीको अन्य भत्ता, पानी तथा बिजुली, सञ्चार महसुल, इन्धन, सवारी साधन मर्मत, बिमा तथा नवीकरण खर्च पुस्तक तथा सामग्री खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्याङ्कन खर्च, सुविधा बापतको पनि करोडौँ रकम सकिएको छ । तर, उपलब्धि भने त्यो अनुसार हुन सकेको छैन ।सरकारले पूर्णता पाएपछि पनि प्रदेश सरकारले कुनै ठोस काम गर्नतिर ध्यान नदिएको सत्तापक्षकै सासंदहरू बताउँछन्। मुख्यमन्त्री र मन्त्रीहरू फुर्सदिला देखिन्छन्।सामान्य पसल उद्घाटन गर्न बोलाउँदा पनि खुशी भएर सहभागी हुने स्थानीय बताउँछन्। काठमाण्डौँलगायत विभिन्न ठाउँ भ्रमण गरेर समय खर्चिरहेका हुन्छन्। प्रदेश सरकारले एक बर्षको अवधीमा नीती तथा कार्यक्रम र बजेट बाहेक नयाँ कानुन बनाउन एउटा पनि बिधेयक प्रदेश शभामा प्रस्तुत गर्न सकेको छैन।


