आफ्ना छोरीछोरा हुर्केपछि जागिर या व्यवसाय गरुन् भन्ने चाहाना हरेक अभिभावकलाई हुन्छ । हर कोहीले जीवनमा केही न केही गर्ने नै प्रयास गरेका पनि हुन्छन् । कतिपय छोराछोरीले बुवाआमाको सपना पूरा गर्दै आफ्नो भविश्य पनि कोर्छन् । हो, डडेल्धुराको अमरगढी नगरपालिका– ६, दमडाकी कल्पना भट्टका अभिभावकले पनि निकै सपना देखेका थिए । आमा तथा अन्य अभिभावकले कल्पनालाई स्नातकोत्तरसम्मको पढाई सकेर सरकारी जागिरे भएको हेर्न चाहन्थे । कल्पनाले त्यस बराबरको पढाइ त सकिन् तर अभिभावकले भनेजसरी सरकारी जागिरे भने बनिनन् । राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेकी छन् कल्पनाले । कुनै बेला एनजीओ, आइएनजीओमा जागिरे थिइन् उनी । त्यसलाई तिलाञ्जलि दिई उनी मानसिक रोगीको सेवामा समर्पित भएकी छन् । कल्पनाले ५ बर्षअघी धनगढी उपमहानगरपालिका– ७ मा बेसहारा महिलाहरुलाई सहारा दिन दृष्टि फाउण्डेशन खोलेकी थिइन् । धनगढीका विभिन्न क्षेत्रमा कार्यरत महिलाहरुको पहलमा दृष्टि फाउण्डेशन सञ्चालनमा आएको थियो ।
पाँच वर्षदेखि मानव सेवामा सक्रिय कल्पना असहाय र बेसहारा महिलाको सहारा बनेकी छन् । ३६ वर्षीया कल्पनाको दिन अचेल असहाय दिदीबहिनीको स्याहारमै बित्ने गरेको छ । जीवनमा घरपरिवार त्याग गरेकी उनको चिन्ता छ त केवल दृष्टि फाउन्डेसनमा बस्ने असहायहरुको खाना र बस्नको कसरी जोहो गर्ने भन्ने । भट्टको नेतृत्वमा ११ जनाले दृष्टि फाउन्डेसन सञ्चालनमा ल्याएका हुन् । जनही १०–१० हजार उठाएको रकमले करिब ४ वर्षदेखि फाउन्डेसन सञ्चालनमा छ । फाउन्डेसन मानवता पढाउने पाठशाला बन्दै गएको छ । फाउन्डेसन समितिका ११ मध्ये कल्पनालाई नियमित सहयोग गर्ने भने ४ जना छन् । चन्द्रादेवी तिरुवा, विनु चौधरी, तुल्सी भट्ट, ललिता चौधरीले उनलाई प्रत्यक्ष सहयोग गर्छन् ।
हाल दृष्टि फाउन्डेसनमा ५२ जना असहाय तथा सहाराविहीन व्यक्ति छन् । जसमध्ये ८ जना बच्चा र ४४ जना महिला छन् । ‘सहरका गल्लीमा बेवारिसे सडक मानव छन् । हामी घर परिवारमा बस्नेको दुःखको अगाडि उहाँहरूको पीडा केही पनि होइन । एउटी महिला मानसिक सन्तुलन गुमाएपछि उसको घरपरिवार कोही हुन्न । ऊ समाजका नरपिपासुहरूबाट पटक–पटक बलात्कृत हुन्छे । उसको अस्मिता पलपलमा लुटिएको हुन्छ । उनीहरूको लागि धेरै गर्न नसकिए पनि कम्तीमा पनि सानो छानोभित्र मिठो निन्द्रा, एक गाँस खाना र अस्मिता लुटिनबाट जोगाउनका लागि पनि लागेका छौं,’ कल्पनाले भनिन् ।
फाउन्डेसनले करिब ५ वर्ष पहिले ८ जनालाई विभिन्न स्थानबाट उद्धार गरेर आफ्नो कार्यको थालनी गरेको थियो । हालसम्म दर्जनौं महिलाहरू पुनर्जीवन पाएर फर्किसकेका छन् । फाउन्डेसनले साढे तीन वर्षको अवधिमा ५० बढी महिलाको उपचार गरी निको बनाएर परिवारसँग पुनर्मिलन गराइसकेको छ । घर फर्किएकाहरू धेरैजसो केही न केही व्यवसाय गरेका छन् । दुई जनामा फेरि समस्या आएपछि पुनः फाउन्डेसन फर्केका छन् ।
महिलाको दागबत्ती महिलाबाटै
फाउन्डेसनले मानसिक सन्तुलन गुमाएर बेघर भएका असहायलाई आश्रय दिँदै आएको छ । उनका आश्रयमा आएकाहरू अधिकांश ठेगानाविहीन छन् । फाउन्डेसनमा औषधोपचारसँगै मनोपरामर्शकर्ताको सहयोगमा काउन्सिलिङ गरिँदै आएको छ । फाउन्डेसनको आश्रयमै ज्यान गुमाएकाको अन्त्येष्टि फाउन्डेसनले नै गर्दै आएको छ ।
फाउन्डेसनको आहारा, मुठ्ठीको सहारा
धनगढी उप महानगरपालिका वडा नम्बर ७ मा भाडाको घरबाट सञ्चालन भएको दृष्टी फाउण्डेशनले हाल आफ्नै भवन बनाएको छ । संसद बिकास कोषको लगानीमा फाउण्डेशनले धनगढी उप महानगरपालिका वडा नम्बर १३ मा आफ्नै भवन बनाएर यतैबाट ति बेसाहाराहरुलाई कल्पनाले स्याहारिरहेकी छिन् । एउटा परिवार पाल्नै त सास्ती हुने समयमा कल्पनाले ५२ जनालाई आश्रय दिइरहेकी छन् । उनले आफू सम्पन्न भएर फाउन्डेसन सञ्चालन गरेकी होइनन् । सानैदेखि मनमा समाजसेवा गर्ने भोक थियो । त्यसले उनलाई यो क्षेत्रमा ल्यायो । उनमा ‘केही गर्नुपर्छ’ भन्ने मनमा हुटहुटी थियो । त्यही हुटहुटीलाई पूरा गर्न उनले फाउन्डेसनको स्थापना गरेकी हुन् । फाउन्डेसनमा रहेका भोका पेटहरूलाई पाल्न उनले मुठ्ठीदान अभियान चलाएकी छन् । दानवीरहरूको घरबाट संकलन भएको मुठ्ठीदानले भोकाको पेट धान्न पुगेको छ । निश्चित आर्थिक स्रोत केही नभएको फाउन्डेसन विभिन्न संघसंस्था तथा व्यक्तिबाट प्राप्त हुने दान र मुठी दानबाट सञ्चालन हुँदै आएको छ ।
समाजसेवाको हुटहुटी
एसएलसीपछि उच्च शिक्षा अध्ययनका लागि कल्पना काठमाडौं हानिएकी थिइन् । डिग्री पढ्दै गर्दा राजधानी बसाइका क्रममा कोसिस नामक संस्थामा काम गरिन् । त्यहाँ काम गर्दै गर्दा अब आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचिन् । त्यसपछि धनगढीमा पाँच वर्ष पहिले फाउन्डेसनको जन्म भयो ।
घर र समाजसँगको विद्रोह
उनी घरकी जेठी छोरी हुन् । उनका आफन्त र आमाको चाहनाविपरीत उनी हिँडिरहेकी छन् । कल्पनाले बिहे गरेकी छैनन् । परिवारका सदस्यहरू बिहे गरोस् भन्ने चाहन्छन् । तर, कल्पनाले जीवनभर बिहे नगर्ने संकल्प लिएकी छन् । त्यही लडाइँका कारण कल्पनाको आमासँग बोलचाल नै बन्द भयो । उनलाई समाज धेरै परिवर्तित भएको लाग्थ्यो । जब उनले पाँच वर्ष समाजलाई नजिकबाट नियाल्ने मौका पाइन् । तब बुझिन् कि, समाज अझै पनि निकै रुढीग्रस्त र ढोंगी रहेछ । उनलाई केही व्यक्तिले ‘यत्रो पढे लेखेर केही काम नपाएर बहुला मान्छे भेला पारेर बसेकी छ’ भन्दा उनको मन निकै दुख्छ । तर, त्यसलाई उनी एक कानले सुनेर अर्को कानले उडाउँछिन् । योभित्र त्यस्ता केही व्यक्ति पनि छन् । जो निकै खुला हृदयका छन् । उनको कामको तारिफ गरिरहेका छन् । उनका कदमा कद मिलाइरहेका छन् । उनलाई प्रेरणा र ढाडस दिइरहेका छन् ।
‘आमालाई सुख दिन सकिनँ’
कहिल्यै बिहे गर्ने सोच नबनाएकी उनले प्रतिष्ठानलाई नै आफ्नो बिहे र अलग्गै संसार ठान्ने बताइन् । उनलाई अहिले आफ्नो संस्थामा रहेकालाई सधैं मिठोमसिनो खुवाउने चिन्ता हुन्छ । राम्रो लुगा लगाइदिने मन हुन्छ । कल्पनाका बुवाको निधन उनी सानै हुँदा भएको हो । सात कक्षामा अध्ययन गर्दै गर्दा बुवा गुमाएकी उनी घरको जेठी सन्तान हुन् ।
उनका चार भाइबहिनी छन् । ‘हामीलाई आमाले भैंसी पालेर दूध बेच्दै पढाउनु र हुर्काउनु भएको हो । हाम्रा लागि आकाश र धर्ती भनेकै मेरी आमा हुन्,’ उनले भनिन्, ‘एकल महिला भएर आमाले गरेको संघर्षले पनि मलाई असहाय महिलाको सेवा गर्न प्रेरित गरेको हो,’ उनले भनिन्, ‘मैले आमालाई खुसी पार्न सकेकी छैन ।’ आर्थिक समस्याका कारण उनलाई आमाको शरीरमा एकसरो नयाँ लुगा र खुट्टामा चप्पल लगाइदिने धोको अधुरै छ । जन्मदिने आमाको ओठमा मुस्कान दिन नसके पनि अरु ’आमाहरू’का ओठको मुस्कानले उनलाई सन्तुष्ट दिइरहेको छ ।
बेसहाराको घर बनाउन खोज्दा अवरोध
सामुदायिक बनसंग सहकार्य गर्दै धनगढी उपमहानगरले उपलब्ध गरेको जमिनमा फाउण्डेशनको घर बनाउन खोज्दा निकै समस्या झेल्पुपरेको थियो । धनगढी उप महानगरपालिका १३ मा नवनिर्मित फाउण्डेशनको भवन निर्माणका बेला स्थानीयको अवरोधपछि काम नै स्थगित भयो । भवन निर्माणका लागि प्रदेश सरकारले छुट्याएको एक पटकको बजेट पनि फ्रिज भयो । ‘आफ्ना लागि नभएर समाजका असुरक्षित दिदीबहिनीको जीवन रक्षाका लागि गरिएको कार्य भएकाले सबै पक्षको सहयोग हुनुपर्नेमा त्यस्तो हुन सकेको छैन,’ उनले भनिन्, ‘असुरक्षित दिदीबहिनीको रक्षा गर्ने प्रत्येक नागरिकको कर्तव्य हो । तर, किन हो घर निर्माण गर्न दिएनन् ।’ सबै निकायसंगको सहकार्यबाट कल्पना फाउण्डेशनको भवन बनाउन सफल भइन् । भवन बनाउँदै गर्दा उनका बिरुद्ध यहाँका स्थानियले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा मुद्धापनि दायर गरे । सामुदायिक बनको जमिनमा भवन बनाइएको भन्दै मुद्धा परेपनि अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महेन्द्रनगरका प्रमुख तथा कैलालीका प्रमुख जिल्ला अधिकारीले अनुगमन गरेपछि वास्तविकता बुझे । र ढुक्कसंग सामाजिक काम गर्न कल्पनालाई सुझाएपछि उनको मन शान्त भयो ।
भवन बनेपनि त्यसको वरीपरी पर्खाल लगाउन नसक्दा फाउण्डेशनमा राखिएका महिलाहरुलाई जोगाउनै मुस्किल परेको कल्पना बताउँछिन् । पर्खाल नभएकै कारण दैनिक महिलाहरु भाँग्न थालेपछि खोज्नै धौधौ परेको उनि बताउँछिन् । प्रदेश सरकारकहाँ गुहार्दै पर्खालका लागी बजेट बिनियोजन गर्न लगाएपनि रातो कितापबाटै बजेट काटिएको भन्दै कल्पनाले दुखेसो पोखिन् । अहिलेलाई पर्खाल भइदिए धेरै राहत हुने थियो उनले भनिन् “घर त बन्यो तर बजारभन्दा टाढा भएका कारण पहिला जस्तै मान्छेहरु आउनुहुन्न त्यही भएर अली समस्या भएको छ, अरु पुरानै अवस्थामा चलिरहेको छ ।”