धनगढी। कैलालीको अत्तरीया स्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सेवा केन्द्र सिल गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको परिपत्रअनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले सोमबार सो सहकारीको सेवा केन्द्र सिल गरेको हो।
आज सोमबार अत्तरियाको धनगढी रोडमा रहेको सहकारीको कार्यालयमा सिल गरेको हो। शिव शिखर सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार साउन २५ गते समस्याग्रस्त घोषणा गरिएको थियो। सहकारी समस्याग्रस्त घोषणापछि सहकारी ऐन २०७४ को दफा १०५ बमोजिम संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालयलाई सिल गर्न पत्राचार गरेको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार सोमबारसम्म सो सहकारी विरुद्ध ३ हजार ५ सयले उजुरी दिएका छन्। जुन सङ्ख्या बढोत्तरी रहेको जनाइएको छ। कैलालीमा सहकारीको ३ वटा सेवा केन्द्र रहेको थियो । धनगढी, अत्तरिया र लम्कीमा सेवा केन्द्र रहेको हो।