काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणले नेपाल र चीन बिच विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबिच रही आएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन।
साता लामो चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सो कुरा बताएका हुन।प्रधानमन्त्रीले भ्रमणका दौरान चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको बताए। साथै उनले विगतमा भएका समझदारीहरूको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता पनि चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले व्यक्त गर्नुभएको जानकारी दिए ।
‘नेपाल र चीनबीच आपसी विश्वास थप सुदृढ भएको छ, ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ’, उनले भने, ‘चीनका राष्ट्रपति सी चिनफिङ र प्रधनमन्त्री ली छियाङसँग छलफलले दुई देशबीचको आपसी सम्बन्धलाई थप उचाइ दिएको छ ।’ केही नाकालाई व्यवस्थित गर्नेबारेमा चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। “वैधानिक ढङ्गले सबै नाका खोल्ने सहमति भएको छ । केही नाका अनुदानमा बनाइदिन्छौँ भन्ने सहमति भएको छ”, उनले भने।
यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्त्वपूर्ण छलफल भएको उनले जानकारी दिए। आन्तरिकरुपमा पनि केही तयारी गर्नुपर्ने देखिएको उल्लेख गर्दै उनले चीनको छन्दुबाट सहजै द्विपक्षीय उडान हुने बताए । चीनका अन्य सहरबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारेमा छलफल भएको प्रधानमन्त्रीको भनाइ छ। संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ समकक्षी लि छियाङसँग भएका सम्झौता सार्वजनिक गरेका छन्। एकसाता लामो चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले शनिवार बिहान त्रिभुवन विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममार्फत सम्झौता सार्वजनिक गरेका हुन्। प्रधानमन्त्रीले असोज ८ गते चिनियाँ समकक्षी लि सँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको र सो क्रममा सहकार्यका विविध विषयहरूमा सविस्तार छलफल भएको जानकारी गराएका छन्।
यी हुन दुई प्रधानमन्त्रीका बीचमा भएको वार्तापछि हस्ताक्षर गरिएको समझदारी पत्रमा भएका मुख्य विषयहरू
–हिल्सा–सिमिकोट सडक परियोजना र नेपाल–चीन पावर ग्रीड इन्टर कनेक्सन परियोजना सम्बन्धी समझदारी पत्र।
–शिक्षा, विज्ञान तथा नवीनताका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्र ।
–नेपालको राष्ट्रिय योजना आयोग र जनवादी गणतन्त्र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच सहकार्य सम्बन्धी समझदारी पत्र ।
–कृषि, पशुपन्छी तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्र ।
–शास्त्रीय महत्त्वका पुस्तकहरूको अनुवाद र प्रकाशनसम्बन्धी समझदारी पत्र ।
–हरित तथा न्यून कार्बन विकासका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्र ।
–डिजिटल अर्थतन्त्रका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारी पत्र ।
–नेपाल चीन व्यापार तथा भुक्तानी सम्बन्धी सहमतिको समीक्षा तथा परिवर्तनका लागि संयुक्त कार्यदल गठन सम्बन्धी समझदारी पत्र ।
–वनस्पतिमा आधारित औषधीजन्य सामग्री नेपालबाट चीनमा निर्यात गर्ने सम्बन्धमा बिरुवा स्वस्थता शर्तसम्बन्धी प्रावधान समेटिएको प्रोटोकल ।
–चिनियाँ पक्षबाट विपद् राहत सामग्री हस्तान्तरण सम्बन्धी पत्रको आदानप्रदान
–चिनियाँ सरकारबाट उपलब्ध गराइएका विभिन्न सामग्री हस्तान्तरण सम्बन्धी प्रमाणपत्र
–नेपाली सरकारी कर्मचारीहरूलाई तालिम प्रदान गर्ने सम्बन्धी पत्रको आदानप्रदान ।
–नेपाल र चीनबीच परम्परागत नाकाका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापार नाकाहरू सुचारु गर्ने
प्रधानमन्त्री प्रचण्डले मुस्ताङको कोरला नाका खोल्नुका साथै किमाथाङ्का र ओलाङचुङगोला नाका पनि चाँडै सञ्चालनमा ल्याउने कुराकानी भएको जानकारी गराएका छन् । मुस्ताङको कोरला नाकामा पूर्वाधार निर्माणका लागि चिनियाँ पक्षले सहयोग प्रदान गर्ने समेत कुराकानी भएको उनले बताए। संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गगरे । न्युयोर्कमा रहँदा उनले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग विशेष भेटवार्ता गरेका थिए । त्यहाँ अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए । प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सिधैँ छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ प्रस्थान गरेका थिए । चीनमा रहँदा उनले चीनका राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरे । सो क्रममा उहाँले चीनमा भएको एसियाली खेलकुदलगायत विविध समारोहमा सहभागिता जनाए । प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग राजधानी बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय वार्ता गरेका थिए ।