काठमाडौं। सुर्खेतको एक निजी विद्यालयको होस्टेलमा बस्ने बालक मृत फेला परेका छन्। वीरेन्द्रनगरमा रहेको उषा बालवाटिका विद्यालयको होस्टलमा ८ वर्षीया बालक मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका बालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-१ का सलाम पुलामी मगर हुन्।
उनी सोही विद्यालयमा कक्षा २ मा पढ्थे। प्रहरीका अनुसार शुक्रबार अपराह्न करिब ४ बजे बालक होस्टेलमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। बालकको शव अहिलेसम्म उठाइएको छैन। आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन्।आफन्तहरू आक्रोशित आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।
आफन्तहरूले विद्यालयमा तोडफोड तथा आगजनी गरेका छन्।आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै विद्यालय र होस्टेल तोडफोड गरेका छन् । कक्षा कोठा र होस्टेलमा रहेका सामानहरु बाहिर ल्याएर जलाइदिएका छन्। घटनास्थलमा प्रहरी तैनाथ गरिएको छ। मृतक बालकका आफन्तहरुले घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा गरेका हुन्। प्रहरीले ७ राउन्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ।
विद्यालयमा रहेका फर्निचरहरु जम्मा पारेर विद्यालयभित्र आगलागी गरेपछि नियन्त्रणका लागि दमकलसहित डिएसपी लक्ष्मण शाहीको नेतृत्वमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख योगेन्द्रसिंह थापाले बताए। घटनास्थलमा अहिले प्रहरी तैनाथ गरिएको छ। आक्रोशित आफन्तहरुले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ।