धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीमा राजधानी तोकेको आज ५ वर्ष पुरा भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा पर्ने स्थानमा २०७५ असोज १२ गते सुदूरपश्चिम प्रदेशसभा बैठकको दुईतिहाइ बहुमतबाट प्रदेशको स्थायी राजधानी राख्ने निर्णय बहुमतले पारित गरिएको थियो।
२०७५ साउन १४ गते सुदूरपश्चिम प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी तोक्न र नाम प्रस्ताव गर्न नेकपा प्रमुख सचेतक तारा लामा तामाङ संयोजक रहेको ५ सदस्यीय विशेष सुझाव समिति बनाएको थियो। समितिमा बलदेव रेग्मी, चुनकुमारी चौधरी, प्रेमप्रकाश भट्ट, श्यामलाल राना थारू सदस्य थिए। समितिको सुझावका आधारमा प्रदेशसभाले राजधानी तोकेको थियो । राजधानी तोकिएपछि प्रदेश सरकारले जग्गाको भोगाधिकारका लागि २०७५ माघ २० गते संघीय सरकारलाई पत्राचार गरेको थियो।
जङ्गल मासेर राजधानी बनाउन लागिएको भन्दै वातावरण संरक्षणका नाममा सर्वोच्चमा रिट दायर गरिएको थियो । प्रदेश राजधानी तेघरीमा बनाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा २ वटा रिट दायर भएको थियो । त्यसपछि अदालतले अन्तरिम आदेश भने जारी गरेको थिएन। तत्कालीन त्रिलोचन्द भट्ट नेतृत्वको प्रदेश सरकारले ५ वर्षे कार्यकालमा राजधानी घोषणा गर्ने बाहेक कुनै काम गर्न सकेनन । ५ वर्षमा राजधानीका सबै संरचना बनिसक्नु पर्नेमा हालसम्म सरकारले उक्त क्षेत्रको भोगाधिकार सम्म पाउन सकेको छैन।
प्रदेश सभाले राजधानी घोषणा गरेको शुक्रबार पाँच वर्ष पुरा भइ छैटौं वर्ष लागेको छ तर घना वन क्षेत्र मासेर प्रदेश राजधानी बनाउने निर्णय विरुद्धको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । राजधानी घोषणा भएको पाँच वर्ष भइसक्दा दोस्रो कार्यकालको पहिलो वर्षको नेतृत्व नयाँ सरकारले गरेको छ। अहिलेका मुख्यमन्त्री कमलबहादुर शाहले सोही राजधानीका विषयमा विवादित धारणा सार्वजनिक मञ्चमै व्यक्त गरिसकेका छन् । मुख्यमन्त्री शाहले प्रदेशको राजधानी गोदावरी नहुन पनि सक्ने धारणा प्रदेश भ्रमणका क्रममा बताए।
अहिले प्रदेश सभा सञ्चालन नहुँदा राजधानी सार्ने वा सोही ठाउँ बनाउने विषयमा छलफल भने अघि बढ्न सकेको छैन् ।राजधानी तोकिएको क्षेत्र कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचन जितेका वीर बहादुर बलायरले चुनावी प्रचारका क्रममा आफू निर्वाचित भएर गठबन्धनको सरकार बनेमा ६ महिना भित्रै गोदावरीमा राजधानी बन्ने प्रक्रिया अगाडि बढ्ने बताएका थिए । त्यसअघि सुदूरपश्चिमको राजधानी हावामा छ भन्ने अभिव्यक्तिका कारण निकै चर्चामा रहेका उनले कैलालीबाट निर्वाचन लड्नु पूर्व आफ्नो अभिव्यक्तिको बचाउ गर्दै निर्वाचित भएपछि हावामा भएको राजधानी जमिनमा बनाउने बताएका थिए ।
‘मैले डोटीमा छँदा प्रदेश को राजधानी धनगढी डेरामा छ र गोदावरी हावामा छ भनेको कुरालाई यहाँ पहाड बनाइदैँछ’ चुनावी प्रचारका क्रममा अत्तरियामा आयोजित कार्यक्रममा बलायरले भनेका थिए ‘मैले सही भनेको त छु नी, अहिले प्रदेशको राजधानी धनगढी डेरामा छैन र गोदावरीमा बनाइने भनेको राजधानी खै कता छ, कसैले देख्नुभाछ, हावामै छ नी । अब यो निर्वाचनमा जितेर गठबन्धनको सरकारले प्रदेशको स्थायी राजधानी निर्माण कार्य सुरु गर्छ । अब यो चुनाव पछि गठबन्धन सफल हुन्छ, यही गठबन्धनको नेतृत्वमा सरकार बन्छ र त्यो सरकारले ६ महिनाभित्र सम्भावित ठाउँमा राजधानी निर्माण गर्छ ।’
२०७९ को निर्वाचनमा राजधानी बनाउने एजेण्डालाई जोडतोडका साथ उठाइए पनि बोलेका कुरा कार्यान्वयन गर्न भने कुनै काम गरेको देखिदैन । २०७९ माघ २६ गते सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहले पदभार सम्हालेको ७ महिना बितिसक्दा पनि राजधानी निर्माण गर्ने कुनै काम भएको छैन। उल्टै उनले गोदावरीमा राजधानी बनाउनेभन्दा पनि सार्ने बहस छेडेपछि राजधानी बन्ने विषय झन अन्योलमा परेको छ । केही दिन अघि मुख्यमन्त्री कमलबहादुर शाहले डडेल्धुरा पुगेर राजधानीको विकल्प खोज्न सकिने अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए ‘यदि गोदावरीमा भएन भने हामी विकल्पको रूपमा अन्य ठाउँमा पनि राजधानीको निर्णय गरेर अगाडि बढ्छौ ।’मुख्यमन्त्रीले नै यस्तो धारणा सार्वजनिक गरेपछि ५ वर्षसम्म पनि वनको लफडा र कानुनी जटिलताले स्थायी राजधानीमा भौतिक संरचना निर्माण हुन नसकेको अवस्थाका बिच राजधानी नै सार्ने कि भन्ने खालको बहस हुन थालेको छ ।
दुई तिहाइले घोषणा गरेको विषय ५ बर्ष सम्म अन्योलमा पर्दा जनतामा भने निराशा देखिएको छ ।अत्तरियाका युवा व्यवसायी प्रमोद अधिकारीले नेताहरूको व्यक्तिगत स्वार्थका कारण राजधानी बन्नमा ढिलाइ भएको आक्रोश पोखे । नेताहरूले कुन ठाउँमा राजधानी बनाउँदा आफूलाई भोलिका दिनमा चुनाव जित्न सहज हुन्छ भनेर राजधानीलाई चुनावी हतियार बनाउँदा अन्योल भएको उनको भनाई छ। उनले गोदावरीमा राजधानी बन्ने सम्भावना कम हुँदै गए पनि यस क्षेत्रमा राजधानी बन्दा नै सबै क्षेत्रका जनतालाई सहज हुने बताए । गोदावरीमा राजधानी गोदावरीमा तोकिएपछि कैलालीका उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय बढ्ने आशा लिएकाहरु सार्ने चर्चाले निराशा बढाएको बताएका छन्।


