धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नियुक्ति प्रक्रियामा एकलौटी गरेको भन्दै दलभित्र असन्तुष्टि बढेको छ। मुख्यमन्त्री शाहले राजनीतिक नियुक्ति प्रक्रियामा सक्रियता बढाएपछि सत्तारुढ गठबन्धन दलभित्रबाटै असन्तुष्टि ब्यक्त गरिएको हो।
मुख्यमन्त्री शाहले आफु र कांग्रेस निकटका ब्यक्तीलाई मात्रै नीति तथा योजना आयोग र मुख्य न्यायधिवक्तामा नियुक्त गरेको सत्तारुढ दलका नेताले आरोप लगाएका छन् । मंगलबार मुख्यमन्त्री शाहले अनुपकुमार उपाध्यायलाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा र ठेकेन्द्र प्रसाद जोशीलाई मुख्य न्यायधिवक्तामा नियुक्त गरेका थिए। नियुक्त गरिएका उपाध्याय र जोशी कांग्रेस निकटका रहेका छन्।
सत्तारुढ दल नेकपा माओवादी निकटकै आयोगका निवर्तमान उपाध्यक्ष मोहनदेव विष्ट र निवर्तमान मुख्यन्याधिवक्ता कुलानन्द उपाध्यायलाई हटाएर नियुक्त गरेको आरोप छ । गठबन्धनकै सरकार रहेको भन्दै विष्टले अझै पनि उपाध्यक्षमा रहन माग दाबी गर्दै आएको स्रोतले बताएको छ । सुदुरपश्चिम सभाका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले गठबन्धनभित्रैकालाई यथावत राखौं भनेपनी मुख्यमन्त्रीले आफ्नै निर्णयले राखेको बताए ।
यस्तै सत्तारुढ दल एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीले सर्वसहमति भन्दा आफ्नो अधिकार प्रयोग गरेको भन्दै असन्तुष्टि ब्यक्त गरे । उनले केन्द्र तहमा सरकार प्रमुखले नियुक्ति लिने बित्तिकै राष्ट्रिय योजना आयोग र महान्याधिवक्ता नियुक्त गरे जस्तै अभ्यास यहाँ पनि गरेको बताए । छलफल र सहमति नगरेरै गर्दा राम्रो नभएको उनको भनाई छ । कानुन निर्माणको थलोको रुपमा रहेको प्रदेश सभा हालसम्म बिजनेसविहीन बनेको छ। हालसम्म प्रदेश सभा अन्तरगतको विषयगत समितिको निर्वाचन हुन सकेको छैन भने समितिको जिम्मेवारी बाँडफाँड अन्योल बनेको छ।
असोज १२ शुक्रबार गतेका लागि सभापतिहरुको चुनावको कार्यतालिका प्रकाशित गरिएपनी निर्वाचनको कार्यतालिका स्थगित गरिएको छ। नेकपा माओवादीका प्रदेशसभा सदस्य अक्कल रावलले निर्वाचन कार्यतालिका कारण नखुलाई स्थगित गरिएको उनको भनाइ छ। तर दलभित्रै विवाद हुँदा मुख्यमन्त्रीको निर्देशनमा निर्वाचनको कार्यक्रम नै अनिश्चितकालको लागि स्थगित गरिएको बताइएको छ।
प्रदेश सभा गठन भएको १० महिना पुग्दैछ। तर, सरकारले सभालाई विजनेस दिन नसकेकोमा सार्वजनिक कार्यक्रममै सभामुख भण्डारीले प्रदेश सरकार हराएको टिप्पणीसमेत गर्दै आएका छन्।
प्रदेश सभामा विषयगत समितिको संख्या बढाउने वा घटाउने तथा सभापति कसलाई कति दिने वा कुन दिनेबारेगठबन्धनभित्र दुबिधा छ । ४ वटा मात्रै संसदीय समिति रहेको प्रदेशमा दलीय भागबण्डा पु¥याउन कानुन संसोधन गर्नेसम्मको प्रक्रिया बढेको थियो। सुदूरपश्चिम प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास गरी चार वटा संसदीय समितिहरु रहेका छन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम धामीको संयोजकत्वमा कानुन संशोधन मस्यौदा समिति गठन गरिएपनी दलबीच सहमति नजुट्दा समितिले हालसम्म प्रतिवेदन बुझाउन सकेको छैन्। बालुवाटारमा भएको समिति कार्यान्वयन गराउन नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरीले दवाव दिएपछि मुख्यमन्त्री शाहले सभामुखलाई समितिको निर्वाचन स्थगित गर्न लगाएका थिए ।केन्द्रमा भएको सहमति विपरीत यहाँको सत्तारुढ दल माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्षी दल एमालेले ४ वटा समिति नै यथावत राख्नुपर्ने अडानमा रहेको छ ।


