धनगढी। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले दशैं तिहार तथा छठमा हुन सक्ने सम्भावित आपराधिक घटनालाई मध्यनजर गर्दै प्रदेशमा विशेष सुरक्षा योजना ल्याउने तयारी गरेको छ । यस वर्षको चाडपर्वमा हुन सक्ने सम्भावित आपराधिक घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिने गरी तयारी भइरहेको जनाएको हो।
प्रदेशका ९ वटै जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजनामा सीमा नाका र ग्रामीण क्षेत्रमा प्रहरीको सङ्ख्या बढाउने, सिमानाका भएर चोरी तस्करी तथा अबैध भन्सार छलीका सामान नियन्त्रणका लागी थप प्रहरी परिचालन, ग्रामीण क्षेत्रमा हुने झै झगडा, लुटपाट हुने स्थानहरुमा सुरक्षाको अवस्था आंकलन गरेर प्रहरी परिचालन गरिने सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता उज्जल मर्हजनले बताए।
दशैं तिहारका बेला लापरर्वाहीका कारण घटना बढीहुने सम्भावना भएकाले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिने तयारी भइरहेको उनले बताए । उनले सुदुरपश्चिम प्रदेशका जिल्ला र स्थान अनुसार सुरक्षाको अवस्थाको मजबुद गरिने र प्रहरी गस्ती बढाइने जानकारी दिए। सिमानाका भएर स्वदेश फर्किने नेपाली लुटिने समस्या भएकाले सीमा क्षेत्रमा प्रहरीको सकृयता बढाउने र सडक दुर्घटना हुने स्थानमा ट्राफिक प्रहरीलाई परिचालन गरिने प्रदेश प्रहरी प्रमुख भरतबहादुर बोहराले बताए।
उनले यस बर्षको चाडपर्व अवधिभर सुदूरपश्चिममा ४ हजार ७१ जना प्रहरी सुरक्षाका लागि तैनाथ गरिने जानकारी दिए। जसमा सहर, गाउँ, बस्तीमा साइकल टोली, मोबाइल टोली, हेल्प डेस्क र आवश्यक परे थप सुरक्षाकर्मी परिचालन हुने बताए। चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत नियमित ड्युटीसँगै रिजर्व फोर्स पनि परिचालन गरिने तयारी छ। बैँक तथा वित्तीय संस्थाको सुरक्षामा समेत कडाइ गरिने जनाइएको छ।
सो अवधिमा जथाभाबी सवारीसाधन चलाउने, गाडी तीव्र गतिमा हाँक्नेलाई ट्राफिक प्रहरीले निगरानी राखी कारबाही गर्ने र जसबाट सडक दुर्घटना कम हुने बिश्वास लिइएको छ ।यता जिल्ला प्रहरी कार्यालय कैलालीले पनी दशै,तिहार तथा छठको समयमा आपराधिक घटना हुन नदिन विशेष सुरक्षा योजना ल्याउने तयारी गरेको छ। गत बर्षका चाडपर्वमा भएगरेका घटनाको आधारमा परिमार्जन सहितको विशेष सुरक्षा योजना ल्याइन लागेको प्रहरी प्रमुख एब प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालले बताए।
उनले आर्थिक लेनदेन हुने क्षेत्र,सार्वजनिक स्थान,सीमा नाकाहरू र बसपार्क क्षेत्रमाहरूमा सादा पोशाकमा प्रहरी परिचालन गरिने बताए। चोरी डकैती हुन नदिन विशेष रूपमा ग्रामीण क्षेत्र,सिमानाका भएर घर फर्कने नेपाली ठगिने समस्या हुन नदिन व्यापक प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक पालले बताए। उनले कस्ता क्षेत्रमा बढी अपराध हुन्छ अनुसन्धान गरी बढी निगरानी गर्ने योजना रहेको बताए। विगतका वर्ष भन्दा यो वर्ष अपराध हुन नदिन कडाइका साथ लाग्ने योजना रहेको उनको दाबी छ।