डडेलधुरा। डडेलधुरा अस्पतालले ओपिडी सेवा सञ्चालन हुने समयावधि थप गरेको छ । अब बिहान ९:३० देखि साँझ ५ बजेसम्म सेवा सञ्चालन हुने अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सन्तोष गुप्ताका अनुसार असोज २ देखि लागु हुने गरी ओपिडी सेवाको समय थप गरिएको हो । सेवाग्राहीको गुनासो सम्बोधन गर्न तथा अस्पतालको सेवा थप प्रभावकारी बनाउन नयाँ कामको सुरुवात गरिएको उनले बताए। सङ्घीय सरकार मातहत रहेको यस अस्पतालमा विषय विशेषज्ञ चिकित्सकको भने सधैँ अभाव रहने गरेको छ।
१९ जना विषय विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि पदपूर्ति हुन सकेको छैन। नवौँ तहमा बढुवा भएर बालरोग विशेषज्ञ डा सन्तोष गुप्ता निमित्त मेसु भएर डडेलधुरा अस्पताल आएसँगै केही चिकित्सक पनि थपिएका छन् । हाल सात जना बालरोग विशेषज्ञ कार्यरत रहेको निमित्त मेसु गुप्ताले जानकारी दिए।उनका अनुसार एक जना स्त्री रोग, एक जना रेडियोलोजिस्ट, एक जना हाडजोर्नी, एक जना मेडिकल अफिसर एमडिजिपी र एक जना एनएसथेसिया रहेका छन्।
मेडिकल अधिकृत भने हाल १९ जना रहेका छन्। दरबन्दी अनुसार पदपूर्तिका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा माग सिफारिस गरे पनि पदपूर्ति हुन नसकेको उनको भनाइ छ । करारमा भर्ना गर्न दरबन्दी आह्वान गरे पनि निवेदन नपर्ने गरेको उनले बताए।२०७५ सालमै विशिष्ट विशेषज्ञ अस्पताल बनाइए पनि अहिलेसम्म स्वीकृत दरबन्दी भने उपक्षेत्रीय अस्पतालकै रहेका छन्।
उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो ।स्वीकृत दरबन्दी अनुसार एक जना ११ औँ तहको मेडिकल सुपरिन्टेन्डेन्ट, नवौँ र १० औँ तहका थप १९ जना कन्सल्टेन्ट चिकित्सक हुनुपर्ने व्यवस्था छ। दरबन्दीमा नवौँ र १० औँ तहका एक जना पनि चिकित्सक कार्यरत छैनन्। १०९ जनाको स्वीकृत दरबन्दी रहेकामा ४७ पद रिक्त छन्। गोरखापत्रबाट