धनगढी। सुदूरपश्चिम प्रदेश सभाअन्तर्गत गठित चार वटा विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। चार वटा विषयगत समितिलाई पूर्णता दिलाउन प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार ११ गतेदेखि निर्वाचन प्रक्रिया सुरु गरिनेछ।
मतदाताको नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता लगायतका काम पूरा गरि असोज १२ गते शुक्रबार दिउँसो ११ बजे सभापतिको चुनाव गरिने बताइएको छ। आठ महिनापछि सुदूरपश्चिममा संसदीय समितिको निर्वाचनका लागी भने नेतृत्वको सरगर्मी बढेको छ। तरपनी अहिलेसम्म दलले उम्मेदवार भने छनोट गर्न सकेका छैनन्। सत्ता गठबन्धनभित्रका दल कांग्रेसको नेतृत्वमा माओवादी, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादी छन् ।
तर कुन दलले कुन समिति पाउने भन्ने विषयमा सहमति भएको छैन। यस्तै एमाले र राप्रपा सरकारमा छैनन् भने स्वतन्त्र एक सांसद छन् । सत्ता गठबन्धनमा चार दल सहभागी भए पनि उनीहरुमध्ये तीन दलले मात्रै समितिको सभापति पाउनेछन्। यसअघि नागरिक उन्मुक्ति पार्टीलाई २ सभापति दिने गरी समितिको संख्या थप गर्ने तयारी गरिएको थियो । तर, त्यसमा सहमति हुन सकेन ।चार समितिमध्ये विधायन तथा प्रदेश मामिला, अर्थ विकास तथा प्राकृतिक स्रोत र सामाजिक विकास सत्ता गठबन्धनमा रहेका चार दलले सहमति गरेर लिनेछन् ।
सार्वजनिक लेखा समितिका एमाले र राप्रपा दुवैले दाबी गरेका छन्। एमाले १० जना सांसद रहेको सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो प्रतिपक्ष दल हो। सबैभन्दा कम रहेको राप्रपाका एक सांसद छन् । एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले सार्वजनिक लेखा समिति एमालेले पाउनेमा हामी विश्वस्त रहेको बताइन्। उनले हामी प्रमुख प्रतिपक्षी दल भएकाले सरकारका गतिविधि, आर्थिक सुशासनको विषय पनि हामीले अध्ययन गर्दै आएकाले एमालेले उक्त समितिको नेतृत्व पाउनुपर्ने दाबी गरिन् । यस्तै राप्रपाकी सांसद खेमादेवी विष्टले पनि सार्वजनिक लेखा समितिमा आफ्नो पार्टीको दाबी रहेको बताइन्। सार्वजनिक लेखा समिति प्रतिपक्षी दलले पाउने भन्ने कुरा भएकाले निर्वाचनमा होमिएर सभापतिको उम्मेदवार बन्ने बताइन्।
सार्वजनिक लेखा समितिको सभापति एमालेबाट बनाउने विषयमा करिब सहमति भइसकेको बताइएको छ। अहिले सार्वजनिक लेखा समितिमा एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापा र वीरबहादुर थापा सदस्य छन् । एमाले वृत्तमा उक्त समितिको सभापतिका लागी वीरबहादुर थापाको सम्भावना बढी छ। सन्तोष दलको उपनेता हुन् । संख्यामा सानो भए पनि बजेट पारित गर्दा राप्रपाकी सांसद खेमादेवी बिष्ट उपस्थित भएको हुँदा सत्ता गठबन्धनले उनलाई सहयोग गर्न सक्ने सम्भावना पनि रहेको बताइएको छ। यता ४ जना सांसद रहेको नेकपा एकीकृत समाजवादीबाट समिति सभापतिका लागि माया पन्त उम्मेदवार बन्न सक्ने सम्भावना छ। अहिले प्रदेशमा आर्थिक मामिलामन्त्री पाएको छ। चार दललाई तीन समिति भागबन्डा गर्दा एकीकृत समाजवादीले समिति नपाउने सम्भावना रहेको स्रोतको भनाई छ।
नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावल भने आफ्नो पार्टीले एउटा समिति पाउने त्यसपछि उम्मेदवारको नाम टुङ्गो लगाउने बताए । तर एउटा समिति पाउनेमा विश्वस्त रहेको उनले बताए।नागरिक उन्मुक्ति पार्टीभित्र अहिलेसम्म समिति सभापतिको लागि उम्मेदवार टुङ्गो लागिसकेको छैन। केन्द्रमा २ समिति पाउने गरी सहमति गरे पनि यहाँ एउटै समिति भागमा पर्ने भएपछि पार्टीभित्रै कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा बहस सुरु भएको छ ।नागरिक उन्मुक्ति दलका नेता घनश्याम चौधरीले केन्द्रमा ६ समिति बनाउने सहमति भएको थियो । यहाँ ४ समितिको निर्वाचन प्रक्रिया सुरु भएको छ। सत्ता गठबन्धनभित्र छलफल हुन बाँकी रहेको उनले बताए।
नागरिक उन्मुक्तिकै अर्का एक सांसदका अनुसार लक्ष्मणकिशोर चौधरीले समिति सभापतिमा दाबी गरे उनी नै सभापति बन्ने सम्भावना बढी छ। चौधरी पार्टीका उपाध्यक्ष र सङ्गठन विभाग प्रमुख हुन्। प्रमुख सचेतक रहेका खुशीराम चौधरीले पनि सभापतिको लागि पार्टीभित्र दाबी गरेको बताइएको छ।माओवादी केन्द्रबाट भने समिति सभापतिको लागि शिवसिंह ओली, लक्ष्मी विक र जानकीदेवी कुँवरमध्ये एक जनाको सम्भावना छ। पार्टीले अहिलेसम्म यस विषयमा कुनै निर्णय भने नगरेको बताएको छ। यस्तै कांग्रेस भित्र सभापति बन्नेहरूले दाबी पेश गरिसकेका छन्। कांग्रेसले प्रकाश बम, मधु भारती, ललित सुनार र सरस्वती खड्कामध्ये एक जनालाई सभापति उम्मेदवार बनाउन सक्ने सम्भावना बढी देखिएको छ । तर सो बिषयमा विषयमा दलको बैठकमा छलफल नभएको कांग्रेसले जनाएको छ।