धनगढी। धनगढी उपमहानगरपालिकाले १९ वटै वडाका एक सय ९० जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ तीर्थयात्रामा पठाएको छ। आज आइतबार उपमहानगरपालिकाले जीवनभर घरधन्दामै सिमित रहने एक सय ९० जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ तीर्थयात्रामा पठाएको हो।
नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला कुमारी राना लगायत जनप्रतिनिधिले टीका र खादा लगाएर जेष्ठ नागरिकलाई तीर्थयात्राका लागि कार्यालय प्रांगणबाट बिदाइ गरेका हुन्। धनगढीका ज्येष्ठ नागरिकहरु एक साताका लागि मुक्तिनाथ यात्रामा निस्किएका हुन्। ज्येष्ठ नागरिकलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छ भन्ने भावनाको विकास गर्नका लागि उनीहरुलाई तीर्थयात्रामा पठाइएको नगर प्रमुख हमालले बताए । ‘स्थानीय तहले ज्येष्ठ नागरिकलाई गरेको यो एकप्रकारको सम्मान हो,’ मेयर हमालले भने, ‘उहाँहरूलाई पनि आफ्नो जीवनको उत्तरार्द्धमा स्थानीय सरकारले हेर्यो भन्ने हुन्छ ।
यसले धार्मिक पर्यटन प्रवर्द्धनमा पनि टेपा पुग्नेछ। ’नगरप्रमुख हमालले उपमहानगरले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै ‘ज्येष्ठ नागरिकलाई तीर्थयात्रा’ कार्यक्रम समावेश गरेका थिए। आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए। उपमहानगरले पाँचवटा बस भाडामा लिएर वृद्धवृद्धालाई धार्मिक यात्रामा पठाएको हो ।प्रत्येक बसमा एक/एक जना स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ। उपमहानगरले तीर्थयात्रामा गएका नागरिकलाई मुक्तिनाथसहित कागवेनी, पोखरा, देवघाट र नवलपरासीको कैवल्यधामको भ्रमण गराइने नगर उपप्रमुख कन्दकला कुमारी रानाले बताए ।
उनले वृद्धवृद्धहरूको सम्मानमा उपमहानगरले हरेक वर्ष मुक्तिनाथ दर्शन गराउने बताए। उनले विगतका बर्षमा ७० बर्षका कटेका ज्येष्ठ नागरिकलाई तिर्थ यात्रा गराउने गरेको भएपनि यषबर्षबाट धार्मीक अगुवालाई समेत समेटेको बताए। यो वर्ष पाँचवटा एसी बसमा तीर्थालुहरूलाई मुक्तिनाथ तीर्थयात्रामा पठाइएको छ। तीर्थयात्री सबैलेलाई खादा, टीका र टेक्ने लौरोसमेत प्रदान गरिएको छ। यसअघि पनि धनगढी उपमहानगरपालिकाले एक सय २२ जेष्ठ नागरिकलाई मुक्तिनाथ यात्रामा पठाएको थियो ।मुक्तिनाथ हिन्दु तथा बौद्धमार्गीहरूको लागि एक महत्त्वपूर्ण तीर्थस्थल हो। यो तीर्थस्थल समुद्र सतहदेखि ३ हजार ७१० मिटरको उचाईमा नेपालको हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ। हजारौँको संख्यामा हिन्दू धर्मावलम्बी तीर्थ गर्नका लागि मुक्तिनाथ जाने गर्दछन्। यो हिन्दूधर्मको दुर्गम तीर्थस्थलमध्ये एक हो।