कैलाली। कैलाली प्रहरीमा दैनिक एक भन्दा बढी लागु औषधका मुद्दा दर्ता हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्क अनुसार जिल्लामा ६३ दिनमा ७३ ओटा मुद्दा दर्ता भएका छन् । लागु औषधमा संलग्न १०८ जना प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीले गएको साउन एक गतेदेखि भदौ ३१ गतेसम्म २ महिनाको अवधि अर्थात् ६३ दिनमा ७३ ओटा लागु औषधका मुद्दा दर्ता गरेको जानकारी दिएको छ । साउन महिनामा ४६ र भदौ २७ ओटा मुद्दा दर्ता भएका छन् । दुई महिनामा चलाएका ७३ मुद्दामा संलग्न रहेका १०८ जना पक्राउ परेका छन् । लागु औषधमा संलग्न रहेको आरोपमा जिल्लाका विभिन्न स्थानबाट एक सय जना पुरुष ८ जना महिला पक्राउ परेका हुन।
पक्राउ परेकाहरूको साथबाट साउन महिनामा ४ किलो चरेश र ५८ ग्राम ६४५ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । भदौ महिनामा एक किलो ३ सय ग्राम चरेश, २३ ग्राम ३०७ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । २ महिनाको अवधिमा ५ किलो ३ सय ग्राम चरेश, ८१ ग्राम ९५२ मिलिग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए।
कैलालीमा जिल्ला प्रहरी कार्यालय धनगढी, ईलाका प्रहरी कार्यालय टीकापुर, लम्की, भजनी, सुखड र मालाखेतिले लागु औषधमा मुद्दा चलाउँछ । २ महिनाको अवधिमा ईलाका प्रहरी कार्यालय टीकापुरले ११ ओटा लागु औषधका मुद्दा दर्ता गरेको छ भने १६ जना प्रतिवादी पक्राउ गरेको छ। १९ ग्राम १९० मिलिग्राम लागु औषध खैरो हिरोइन बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतिले १९ ओटा मुद्दा दर्ता गरेको छ भने ३४ जना पक्राउ गरेको छ। ३५ ग्राम १०१ मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ । भजनीले ३ ओटा मुद्दा दर्ता गरेको छ भने ४ जना प्रतिवादी पक्राउ गरेको छ। २ ग्राम ५० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय लम्कीले २ ओटा मुद्दा दर्ता गरेको छ भने ४ जना प्रतिवादी पक्राउ गरेको छ । एक ग्राम ४७० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ। सुखडले एक मुद्दा दर्ता गरेको छ भने ४ जना प्रतिवादी पक्राउ गरी एक किलो ३ सय ग्राम चरेश बरामद गरेको छ।
प्रहरीको तथ्याङ्क जस्तै समाजमा पनि लागु औषधको अवस्था भयावह देखिन थालेको नागरिकहरूको बुझाई छ । नेपाल भारत सीमा क्षेत्रका नागरिकहरू अहिले लागु औषध ओसारपसारमा लगानी समेत गर्न लागेको भन्ने सुनिन थालेको र यसले गर्दा यहाँ लागु औषध दुव्र्यसनीको अवस्था अझै भयावह देखिने टीकापुर नगरपालिका वडा नम्बर ८ का धनसिंह साउँदको भनाई छ। वडा नम्बर एक शक्तिनगरका पूर्व बडघर रामलाल डंगौराले पनि समुदायमा लागु औषध दुव्र्यसनी बढेको देख्दा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणमा सबैले ध्यान दिनुपर्ने बताएका छन।