कञ्चनपुर। भारतले बन्देज नहटाउँदा पर्यटकलाई गड्डाचौकी नाकाबाट आवागमनमा झमेला बेहोर्नुपरेको छ। कोरोना संक्रमणका बेलादेखि भारतले विदेशी नागरिक प्रवेशमा लगाएको रोक नखोल्दा पर्यटकलाई गड्डाचौकी नाकाबाट आवागमनमा निकै समस्या बेहोर्नुपरेको हो।
एक साता भारतको दिल्ली घुमेर गड्डाचौकी नाका हुँदै कञ्चनपुरको महेन्द्रनगर पुगेकी बेल्जियमकी लुसियाले अनावश्यक झमेलाले समयसंगै खर्च बेहोर्नु परेको हो । विगतमा झैं गड्डाचौकी नाकाबाटै फर्किने योजनासहित लुसियाले एक साताका लागि होटल तथा घुमफिरको कार्यक्रम ट्राभल एजेन्सीबाट बुक गरेकी थिइन्। तर गड्डाचौकी नाकाबाटै फर्किन नपाउने भएपछि उनले पूर्व निर्धारित भ्रमणको योजना छोट्याइन्।
दुई दिनमात्रै महेन्द्रनगर क्षेत्रमा घुमेर भैरहवा नाकाबाट भारत पसिन् । लुसिया २०१६ देखि नियमित नेपाल आइरहेकी छन् । कोरोना संक्रमणका बेला रोकिएको उनको घुमफिर फेरि सुरु भएको हो । सुदूरपश्चिमका अधिकांश जिल्ला घुमिसकेकी उनी खप्तडमा समेत पुगेकी छन् । उनले यस्ता यात्रामा साथीभाइलाई समेत घुम्न ल्याउने गरेकी छन्। भारत हुँदै नेपालको सुदूरपश्चिममा घुम्ने र यहीँको बाटो दिल्ली फर्कने उनको योजना थियो । कोरोना संक्रमणका बेलादेखि भारतले विदेशी नागरिक प्रवेशमा लगाएको रोक नखोल्दा निकै समस्या भयो।
महेन्द्रनगरबाट साढे ३ सय किलोमिटर दुरीमा रहेको दिल्ली पुग्न भैरहवाबाट झण्डै १ हजार किलोमिटर हाराहारी बढी यात्रा गर्नुप¥यो। जसका कारण समयसंगै खर्च पनि बढ्यो ।एक हप्तामा फर्किने योजना बनाएर होटल पनि बुक गरेको उनले बताइन् । यहाँबाट भारत फर्किन नपाइने रहेछ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेवैको शुक्लाफाँटा जंगल कटेजमा भेटिएकी लुसियाले भारतबाट नेपाल आउन मात्रै पाइने रहेको बताइन् । उनको टोली एक हप्ता घुम्ने योजना दुई दिनमै छोट्याएर भैरहवा नाकाबाट फर्किएको छ।
लुसिया लेखिका भएकाले बेला बेलामा घुम्न निस्कीने र सुदूरपश्चिमका अधिकांश जिल्ला घुमिसकेकी भएकाले यही क्षेत्रमा रमाउने गरेकी छिन् । यहाँको वातावरण निकै रमाइलो घुम्ने ठाउँहरु प्रशस्त रहेकाले जति घुमे पनि धित नमर्ने गरेको बताइन् ।बेल्जियमका ४ र नेदरल्याण्डका २ जनासहित भारतको दिल्लीका एक जना ट्राभल एजेन्सीका कर्मचारीसमेत गरि ७ जनाको टोली गत साता महेन्द्रनगर पुगेको हो । उनीहरुले महाकालीमा निर्मित झोलुंगे पुल, वेदकोट ताल, ब्रम्हृदेव क्षेत्र घुमफिर गरे।
असोज १ बाट शुक्लाफाँटामा निकुञ्जभित्र सफारी खुल्ने जानकारी पाएका उनीहरु त्यसको आनन्द लिने योजनामा पनि थिए । तर गड्डाचौकी नाकाबाटै फर्किन नपाउने भएपछि उनीहरु भ्रमण अवधि छोट्याएर फर्किएका हुन् । अर्की बेल्जियम नागरिक निकोलीले यहीँका क्षेत्र घुम्ने तराई र पहाड सबै ठाउँ घुम्ने योजना भएपनी घुम्न नपाइ हतार हतारमा जानुपरेको बताइन् । पहिलो पटक नेपाल आएको र यहाँ दिल्लीमै गड्डाचौकीबाट विदेशी नागरिकलाई भारत प्रवेशमा रोक लगाएको जानकारी बताइन्।
गड्डाचौकीस्थित अध्यागमन कार्यालयमा पुगेपछि मात्रै उनीहरुले यही नाकाबाट फर्किन नपाइने जानकारी पाएपछि उनीहरुले आफ्नो पूर्वनिर्धारित कार्यक्रम परिवर्तन गरेका हुन् । झोलुंगे पुल, वेदकोट ताल र लिंगा क्षेत्र निकै रमाइलो रहेको निकोलीका श्रीमान विलिले भने। धेरै ठाउँ घुम्ने योजना रहेकोमा त्यो सबै स्थगित भएको बताए। पर्यटक घुमाउन महेन्द्रनगर पुगेका दिल्लीको इण्डिया इण्डिभिजुअल ट्राभल्सका रतनसिंहले भैरहवाबाट घुमेर जाँदा दोब्बर यात्रा गर्नुपर्ने बताए। त्यसका लागि खर्च र समय पनि बढी लाग्ने उनको भनाई छ।
कोरोना संक्रमणपछि पहिलो पटक गड्डाचौकी नाकाबाट प्रवेश गरेका उनलाई यो नाकाबाट विदेशी नागरिक प्रवेशमा भारतले लगाएको रोकबारे जानकारी नभएको उनको भनाई छ। उनी वर्षमा ३र४ पटक विदेशी पर्यटकको टोली लिएर नेपाल आउने गरेका छन्। २०१९ सम्म गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भारत प्रवेश गर्न पाउथे। कोरोना संक्रमणका बेला भारतले विदेशी नागरिक प्रवेशमा लगाएको रोक अझै खोलेको छैन। नेपालका केही सीमित प्रमुख नाकाबाट मात्र विदेशी नागरिक प्रवेश गर्न पाउने भए पनि पश्चिम नेपालको कञ्चनपुरमा पर्ने गड्डाचौकी नाकामा भने अझै रोक लगाइएको छ।
जसका कारण भारतको दिल्ली, हिमाञ्चल र उत्तराखण्डका विभिन्न क्षेत्र घुमेर केही दिन यहाँको गड्डाचौकी नाका हुँदै नेपाल भित्रिने विदेशी पर्यटकलाई भारततिर फर्कन समस्या भएको छ। उनीहरु यही नाकाबाट फर्किन नपाउने भएका कारण यहाँ आउन नसकेको पर्यटन व्यवसायीहरु बताएका छन् । यहाँ दिल्ली, नैनीताल, देहरादुन, बद्रीकेदार र केदारनाथ लगायतका क्षेत्रमा घुम्न आउने पर्यटक आउने गरेको पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताए। यहीँबाट फर्किन नपाउने भएपछि उनीहरु आउन छाडेको उनले भने । गड्डाचौकीस्थित अध्यागमन कार्यालय प्रमुख पदमराज भट्टले कोरोना संक्रमणका बेला प्रवेश रोक लगाएको अझै नखुल्दा पर्यटकहरुलाई समस्या भएको बताएका छन्। पर्यटकहरु फर्किदा अन्य नाका प्रयोग गर्नु पर्ने बाध्यतामा यो समस्या भएको जानकारी दिए। उनले सन २०२३ को हालसम्म यो नाकाबाट ५४१ जना विदेशी पर्यटक भित्रिएको बताएका छन्।