कञ्चनपुर। कञ्चनपुरमा हातबाँधी उखुबारीमा अलपत्र छोडिएको एक शिशुको उद्धार गरिएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ स्याली खोला नजिकै उखुबारीमा हात बाँधी अलपत्र शिशु छोडिएको देखेपछि स्थानीयले आज बिहान उद्धार गरेका हुन्।
सडक छेउस्थीत उखुबारीमा करिब एक, डेढ वर्ष उमेरको देखिने शिशु रोइरहेको अवस्थामा भेटिएको थियो। दुबै हात दोपट्टाले बाँधिएको शिशुको उद्धार गरी प्रहरीको जिम्मा लगाइएको छ। श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शिशुको उपचार भइरहेको र तिनका अभिभावकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसीले जानकारी दिएका छन्।यसबारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।