धनगढी। सुदुरपश्चिमका प्रदेशका ५ सहित देशका ३० जिल्लामा क्रिस्चियन आईएनजीओका ११ अर्ब २८ करोड ३३ लाख ९४ हजार ४३७ रुपैयाँबराबरका कार्यक्रम स्वीकृत भएका छन् ।
क्रिस्चियन धर्मसँग सम्बन्धित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरूले गत वर्ष नेपालमा उक्त रुपैयाँबराबरका कार्यक्रम स्वीकृत गराएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गगतको समाज कल्याण परिषद्ले ती कार्यक्रम स्वीकृत गरेको हो। परिषद्का अनुसार गत आर्थिक वर्ष २०७९/८० मा क्रिस्चियन आईएनजीओले उक्त कार्यक्रम स्वीकृत गराएका हुन् ।
स्वीकृत कार्यक्रमको अवधि एकदेखि पाँच वर्षसम्म छ। परिषद्को तथ्यांकानुसार सात क्रिस्चियन आईएनजीओले उक्त रकम एकदेखि पाँच वर्षको अवधिमा नेपालमा खर्च गर्न लागेका हुन् । तिनले नेपालका ३० जिल्लामा खर्च गर्ने गरी कार्यक्रम स्वीकृत गराएका छन्। जस अनुसार सुदुरपश्चिम प्रदेशका ५ जिल्ला छन्। प्रदेशको कैलाली, अछाम, बझाङ, डोटी र कञ्चनपुर जिल्ला रहेका छन्। यस्तै सप्तरी, धनुषा, रौतहट, महोत्तरी, सर्लाही, उदयपुर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), बर्दिया,रुपन्देही, कपिलवस्तु, काठमाडौं, सिन्धुली, कास्की, लमजुङ, गोरखा,सुर्खेत, सल्यान, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, दैलेख, जाजरकोट, जुम्ला र कालीकोट छन्।
गत आर्थिक वर्ष नेपालमा पनि त्यसरी कार्यक्रम स्वीकृति गराउने क्रिस्चियन आईएनजीओहरूमा लुथरन वर्ल्ड रिलिफ (अमेरिका), क्याथोलिक रिलिफ सर्भिसेज्, एडभेन्टिस्ट डेभलपमेन्ट एन्ड रिलिफ एजेन्सी (अमेरिका), वर्ल्ड भिजन इन्टरनेसनल (अमेरिका), स्ट्रोम फाउन्डेसन (नर्वे), आईएनफ इन्टरनेसनल (अस्ट्रेलिया) र किन्डरनोथलाइफ (जर्मनी) रहेका छन् । सात आईएनजीओका कार्यक्रमअन्तर्गत युवा उद्यमशीलता विकास परियोजना, लमजुङ रिकभरी प्रोजेक्ट, सुधारिएको पोषण र पानीमार्फत सुधार परियोजना, द एन्हान्स्ड रुरल एआई प्रोजेक्ट (साना डेरी किसानका लागि), बालकल्याण र एकीकृत विकास परियोजनाका लागि हातेमालो छन्। आईएनजीओहरूले उक्त रकम नेपालका गैरसरकारी संस्था (एनजीओ)मार्फत खर्च गर्नेछन् । “हामीकहाँ आईएनजीओ दर्ता हुँदा वा कार्यक्रम ल्याउँदा कुन धर्मसँग आबद्ध हो भन्ने थाहा हुँदैन । त्यो सोधीखोजी हुँदैन र गर्न पनि मिल्दैन ।
उनीहरूको कार्यक्रम ठिक भए स्वीकृति हुन्छ, नत्र हुँदैन,” समाजकल्याण परिषद्का प्रवक्ता सञ्जयकुमार मल्लिकले बताए । नेपालमा कहिलेकाहीँ केही आईएनजीओ र एनजीओमाथि धर्म परिवर्तन गराउने काम गरेको आरोप लाग्ने गरेको छ । यस्ता विषयमा परिषद्मा उजुरी पनि पर्ने गरेका छन् । “बेलाबखत केही आईएनजीओले धर्म परिवर्तन गराउने काम गरेका छन् भन्ने उजुरी आउँछ । त्यसमाथि हामी छानबिन पनि गर्छौँ, तर यस्तो आरोप पुष्टि हुन सकेको छैन। देखिने गरी यस्ता काम भएका छैनन्,” मल्लिकले भने । गत आर्थिक वर्ष २०७९/८० मा परिषद्ले ४७ आईएनजीओका विभिन्न परियोजना तथा कार्यक्रम स्वीकृति गरेको थियो। गत वर्ष आईएनजीओले ३० अर्ब ४८ करोड रुपैयाँबराबरका कार्यक्रम स्वीकृत गराएका थिए । स्वीकृत रकममा ३७.०१ प्रतिशत हिस्सा क्रिस्चियन आईएनजीओहरूको छ । नेपालमा १४७ आईएनजीओ दर्ता छन्। सक्रिय भने ४७ मात्र रहेका परिषद्ले जनाएको छ ।
यस्तै, समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजना, संवाद कार्यक्रम (किशोरीहरूको शिक्षा र सशक्तीकरणका लागि), अस्पताल परियोजना र महिला सशक्तीकरण तथा बालअधिकार संरक्षण कार्यक्रम स्वीकृत गराएका हुन् । गत आर्थिक वर्ष अमेरिकी आईएनजीओ वर्ल्ड भिजन इन्टरनेसनलको मात्र आठ अर्ब २० करोड रुपैयाँभन्दा बढीका दुई परियोजना स्वीकृत गरिएको थियो । दुईमध्ये पाँचवर्षे एउटा परियोजनाको बजेट करिब आठ अर्ब रुपैयाँ छ । वल्ड भिजन इन्टरनेसनलले बालकल्याण र एकीकृत विकास परियोजनाका लागि हातेमालोलाई सात अर्ब ९५ करोड ४३ लाख २० हजार १११ रुपैयाँ बजेट स्वीकृत गराएको छ ।
वर्ल्ड भिजनको यो परियोजना सुदूरपश्चिम प्रदेशका अछाम, बझाङ, डोटी र कञ्चनपुर, कर्णाली प्रदेशका दैलेख, जाजरकोट र जुम्ला, गण्डकी प्रदेशको लमजुङ, वाग्मती प्रदेशका काठमाडौं र सिन्धुली, मधेस प्रदेशका रौतहट, महोत्तरी र सर्लाही र कोसी प्रदेशको उदयपुरमा लागु गरिनेछ । वर्ल्ड भिजनले नै समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजनामा २५ करोड ३८ लाख ३८ हजार ८२६ रुपैयाँ खर्च गर्नेछ । यो परियोजनाको अवधि तीन वर्ष छ । अछाम र कञ्जनपुरमा कार्यक्रम कार्यान्वयन गरिनेछ । अमेरिकी आईएनजीओ लुथरन वर्ल्ड रिलिफले नौ करोड ९९ लाख ५७ हजार ६५० रुपैयाँको दुईवर्षे परियोजना स्वीकृत गराएको छ । युवा उद्यमशीलता विकास परियोजनामा उक्त रकम खर्च गरिनेछ। परियोजना सप्तरी, गोरखा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), बर्दिया र कैलालीमा लागु गरिने समाजकल्याण परिषद्को विवरणमा उल्लेख छ । जर्मनीको किन्डरनोथलाइफले महिला सशक्तीकरण तथा बालअधिकार संरक्षणसम्बन्धी कार्यक्रम स्वीकृत भएको छ । परिषद्का अनुसार यो कार्यक्रमको बजेट २३ करोड ३३ लाख ९५ हजार ६४८ रुपैयाँ छ । पाँचवर्षे यो कार्यक्रम अछाम, डोटी, कञ्चनपुर, कैलाली, कपिलवस्तु र धनुषामा लागु गरिनेछ ।