दार्चुला। लिम्पियाधुरा क्षेत्रको जोलिङकाङमा भारतले हेलिप्याड निर्माण गरिरहेको छ। जोलिङकाङमा निर्माण हुन लागेको हेलिप्याडमा दुई वटा ‘चिनुक’ र ६ वटा साना हेलिकप्टर एकैसाथ अवतरण गर्न सक्ने बताइएको छ।
१५० मिटर लम्बाइ र ३५ मिटर चौडाइ भएको हेलिप्याडको निर्माण कार्य अन्तिम चरणमा पुगेको भारतीय संचारमाध्यम (अमर उजाला) ले जनाएको छ। गर्ग एण्ड गर्ग कम्पनीले पाँच करोड लगानीमा हेलिप्याड निर्माण गरिरहेको हो।
आदि कैलाश पर्वतको दर्शन र चीन सीमा नजिकैको यो हेलिप्याड रणनीतिक हिसाबले महत्वपूर्ण मानिएको छ। व्याँस उपत्यका (घाँटी) मा भारतले आधा दर्जन हेलिप्याड निर्माण गरी हवाइ ओहोरदोहोर गर्ने गरेको छ। जोलिङकाङबाट आदि कैलाश पर्वत २ किलोमिटरको दूरीमा पर्छ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले असोज २४ र २५ गते (अक्टोबर ११ र १२ तारिख) पिथौरागढ जिल्लाको भ्रमण गर्ने प्रस्ताव राखेका छन्। प्रधानमन्त्री मोदी हेलिकप्टरबाट जोलिङकाङको हेलिप्याडमा अवतरण गर्ने भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ। मोदीको प्रस्तावित भ्रमणलाई मध्यनजर गर्दै व्याँस उपत्यकाको चीन सीमानजिकै रहेको ज्योलिकाङ हेलिप्याड निर्माणको कामलाई तीव्रता दिइएको छ । प्रधानमन्त्री मोदी सबैभन्दा पहिले नारायण आश्रम, आदि कैलाशको दर्शन गर्नेछन् । त्यसपछि उनले पिथौरागढको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।