अछाम। अछामको चर्चित पर्यटन गन्तव्य रामारोसन जान रोकिएका विभिन्न ३५ मुलुकका दुई हजार पर्यटकलाई त्यहाँ जान अनुमति दिइएको छ। रामारोसन गाउँपालिका र रामारोसन पर्यटन विकास समितिले जिम्मा लिने भएपछि पर्यटकलाई जान अनुमति दिइएको हो ।
रेन्बो ग्यादरिङका लागि भन्दै ठूलो संख्यामा विदेशीहरू रामारोसन जान थालेपछि सुरक्षा चासो भन्दै स्थानीय प्रशासनले उनीहरूलाई रोकेको थियो। प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले पर्यटन मन्त्रालयको अनुमति लिएका पर्यटकलाई रामारोसन जान दिइएको जानकारी दिए। उनले भिसा भएका, पर्यटन मन्त्रालयले रामारोसन जान अनुमति दिएका पर्यटकलाई जान दिने भन्ने भएअनुसार सहजीकरण गरिएको बताए ।
स्थानीय प्रशासनले रोकेपछि रामारोशन गाउँपालिका र रामारोशन पर्यटन विकास समितिले उनीहरूलाई रामारोशन आउन दिन भन्दै पर्यटन मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेखेका थिए। जिल्ला प्रशासन कार्यालयले पनि त्यहाँको अवस्था जनाएर गृह मन्त्रालयलाई पत्र लेखेको थियो। गाउँपालिका र पर्यटन विकास समितिले रेन्बो ग्यादरिङ कार्यक्रमलाई आफूहरूले अपनत्व लिने बताएपछि सुरक्षा अवस्था बुझेर उनीहरूलाई त्यहाँ जान दिने गृह मन्त्रालयले बताएपछि आज उनीहरूलाई रामारोशन जान दिइएको हो।
प्रजिअ पोखरेलले गाउँपालिका र पर्यटन विकास समितिले हामी जिम्मा लिने भनेपछि यातायातमा सजीकरण गरेको बताए। सुरक्षाको कुरा सुरक्षा योजना अनुसार हुने उनले बताए । गृहको आदेशसँगै पर्यटकहरु रामारोशन क्षेत्रमा प्रवेश गर्न थालेको अछाम प्रहरीले बताएको छ। सामाजिक सञ्जालमार्फत रामारोशन जाने भन्दै बुटवलका सुनज खनालले आह्वान गरेको र त्यसपछि भारत, युरोप, अमेरिका, क्यानडा, पोल्याण्ड, इटली, रसिया, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मन, थाइल्याण्ड, जापानसहितलगायतका मुलुकबाट २ हजार पर्यटक एक महिना बस्ने गरी रामारोशन जान लागेको बताइएको छ।
उनीहरूले त्यहाँ मेडिटेसन, म्यूजिकलगायतका कार्यक्रम गर्ने योजना बनाएको समेत जनाइएको छ । समुद्र सतहबाट करिब २५ सय मिटर उचाइमा रहेको रामारोशन क्षेत्र ‘१२ बण्ड, १८ खण्ड’ का नामले परिचित छ। १२ वटा ताल र १८ वटा घाँसे मैदान रहेको सो क्षेत्र करिब ५–७ किलोमिटर रेडियसमा फैलिएको छ। विदेशी नागरिकले १ देखि २ महिनासम्म रामारोशन क्षेत्रमा बस्न चाहेको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ।