कञ्चनपुर। उनी १६ वर्षकी थिइन्। ८ कक्षामा पढ्थिन् । करिब ६ महिना अघिको कुरा हो। सामाजिक सञ्जाल फेसबुकमा उनको एक युवकसँग कुराकानी सुरु भयो। दिनहुँ हुने कुराकानी मायाप्रेममा परिणत भयो । दुई-अढाई महिनासम्म सामाजिक सञ्जालको कुराकानीमै उनीहरु भेट्न तयार भए।
भारतको दिल्लीमा रोजगारी गर्ने युवक र पार्वती (नाम परिवर्तन) बीच वीरगन्जमा भेटने कुरा भयो। युवक दिल्लीबाट र पार्वती धनुषाबाट वीरगन्ज पुगे । त्यतिबेला युवककी दिदी पनि सँगै थिइन। युवकले भारतमा राम्रो नोकरी भएकाले विवाह गरेर उतै लैजाने भनेर भनेपछि पार्वती मक्ख परिन्। विवाह गरेर दिल्ली जान तयार भइन्। युवकले दिदी र पार्वतीलाई वीरगन्ज नाकाबाटै एउटा तांगा (घोडागाडी) पठाए।
वीरगन्जमै एकजना वृद्धलाई पनि नाकामा रोकेर उनले चेकजाँच गरेमा छोरी भनिदिनु भन्दै फकाए। नम्बर पनि साटासाट गरे। तर नाकामा चेकजाँच वा सोधपुछ नै भएन। वीरगन्ज नाकाबाट भारत पसेकी पार्वतीका दुःखका दिन सुरु भए। दिल्ली लगेर युवकले एक महिनासम्म सॅंगै राखे। विवाह गर्ने भन्दै प्रलोभन दिएर जबरजस्ती करणी गरे। ‘एक महिनापछि मेरो लागि होइन दाईको लागि ल्याएको भन्दै आफू फरार भयो,’ यसैसाता माइती नेपाल कञ्चनपुरले दिल्लीबाट उद्धार गरेर ल्याएकी पार्वतीले भनिन्, ‘त्यसपछि उसको दाईको यातना सुरु भयो।’ युवकका दाईले पनि जबरजस्ती करणी मात्रै गरेनन्‚ यातना पनि दिन थाले।
यही बीचमा पार्वतीले युवकको दाईले अरु कसैसँग कुरा गरेको सुनिन्। जसबाट उनी झसंग भइन्। उनलाई बेच्ने तयारी भइरहेको थियो। उनलाई कोठामा बन्धकजस्तै राखिएको थियो। बाहिर जाँदा पनि नजिक मात्रै आफूसँगै लैजाने गर्थे। एक दिन पार्वतीले मेसेन्जरबाट आफ्नो अवस्था आमालाई बताइन। आफू भएको ठाउँ र आफ्नो अवस्थाबारे सबै जानकारी गराइन्। त्यसपछि आमालाई जिल्ला प्रहरी कार्यालय धनुषालाई उद्धारका लागि आग्रह गरिन्।
धनुषा प्रहरीबाट माइती नेपाल धनुषा हुँदै उक्त कुरा माइती नेपाल कञ्चनपुर पुग्यो।‘यो कुरा पीडितकी आमाले दिल्लीमा आफ्ना नेपाली साथीभाईसँग पनि पुर्याइसकेकी रहिछन्,’ माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, ‘उनीहरुकै सहयोगमा उनलाई उद्धार गरेर ल्याइएको हो।’ पीडितकी आमा केही वर्ष दिल्लीमै बसेर काम गरेकी थिइन् । त्यही बेलाका साथीभाईलाई उनले छोरीको अवस्था बताएर उद्धारका लागि आग्रह गरेकी थिइन ।
माइती नेपाल र नेपालीकै टोली पार्वतीको उद्धारका लागि पुग्दा उनलाई बन्धक बनाएर राखिएको थियो । धेरै दिनदेखि खाना पनि दिइएको थिएन । हिँडडुल तथा बोल्न समेत नसक्ने अवस्थामा उनको उद्धार गरियो । ‘पाँच दिन दिल्लीमै उपचारपछि बल्ल उनी बोल्न र हिडडुल गर्न सक्ने भइन्,’ उद्धारमा खटिएकी भट्टले भनिन्, ‘त्यसपछि महेन्द्रनगर ल्याइएको हो ।’ उनलाई मंगलबार माइती नेपालकै कर्मचारीसॅंग धनुषा पठाइएको छ ।
माइती नेपालले २०२३ मा हालसम्म भारतबाट १४ जनाको उद्धार गरेको छ । जसमा अधिकांश सामाजिक सञ्जालबाटै सम्पर्कमा आएका छन्। कतिपय साथीभाई बनेर त कतिपय प्रेमिका बनेर फसेका छन्। ‘जागिरको प्रलोभन, दिल्ली मुम्बईमा राम्रो नोकरी भएको भन्दै फकाउने आदि कारणले किशोरीहरु फसेका छन्‚’ भट्टले भनिन्, ‘हामीले भारतबाट उद्धार गरेका अधिकांश सामाजिक सञ्जालबाटै सम्पर्कमा आएर भारत पसेका छन् ।’ उनका अनुसार कतिपयलाई महिलाहरुले नै फकाएर लैजाने गरेको समेत पाइन्छ।
माइती नेपाल कञ्चनपुरमा यस वर्ष खोज तलासका लागि १ सय १८ महिला तथा बालबालिकाको निवेदन परेको छ। यसमा पनि धेरैजसो सामाजिक सञ्जालबाटै सम्पर्कमा आएर भारततर्फ गएको हुन सक्ने देखिन्छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा १ सय ३९ महिला बेपत्ता भएका छन् । तीन वर्षमा प्रहरीकहाँ खोज तलासका लागि हराएको भनि ७ सय ७५ निवेदन परेका थिए । यसैगरि तीन वर्षमा १५ बालक र ४४ बालिका हराएका छन् । प्रहरीमा १ सय २२ बालक र २ सय ६० बालिका हराएकाले खोजीका लागि निवेदन परेका थिए।कान्तीपुरबाट