धनगढी। अछाममा विदेशी पर्यटक आएको आधिकारिक जानकारी नभएको सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले बताएका छन्।
विभिन्न देशका पर्यटक अछामको रामारोशनका लागि आएको विषयमा अहिलेसम्म आफु प्रदेश मन्त्रालयलाई जानकारी नरहेको बताएका हुन्। अहिलेसम्म हामीलाई जानकारी नै नआएकाले पर्यटकका बारेमा केही पनि थाहा नभएको मन्त्री धामीले उल्लेख गरे। वर्ल्ड रेन्बो फेमिली नामक जमघटका लागि विदेशी पर्यटक आएको रामारोशन गाउँपालिकाको कार्यालयले जनाएको छ।
अहिलेसम्म भारत, अमेरिका लगायत विभिन्न देशका दुई सयको हाराहारीमा पर्यटक अछाममा पुगिसकेको बताइएको छ। सुरक्षा संवेदनशीलता रहेका कारण उनीहरूलाई स्थानीय प्रशासनले विभिन्न ठाउँमा रोकेको छ ।रामारोशन गाउँपालिकाको कार्यालयले भने आएका पर्यटकहरू सामाजिक रूपमा प्रतिकूल असर नगर्ने गरी बसेकाले सेप्टेम्बर १५ देखि अक्टोबर १५ सम्म एक महिनाको लागि उनीहरूको जमघट कार्यक्रमलाई अनुमति दिन माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखेर पठाएको छ।
यसैबिच, अछामको रामारोशनका लागि आएका पर्यटकहरूलाई अनुमति दिनका लागि पहल गर्ने वा नगर्ने विषयमा प्रदेशमा छलफल चलाइएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नवराज ओझाले पर्यटकलाई रामारोशन प्रवेश र कार्यक्रम गर्न दिने विषय सङ्घीय सरकारको अधिकार क्षेत्रभित्र परेको बताए। तर आएका पर्यटकलाई अनुमति दिने वा नदिने विषय प्रदेश सरकारको क्षेत्रमा नपर्ने भएकाले सङ्घीय सरकारको अधिकार क्षेत्रको कुरा रहेको उनले बताए। सो विषयमा प्रशासनिक रूपमा प्रदेशमा पनी छलफल चलाइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता ओझाले जानकारी दिए।