कैलाली। कैलालीको अत्तरियामा फेरी पनि रेड लेबल विषादी युक्त तरकारी भेटिएको छ। सोमबार कृषि उपज थोक बजार अत्तरियाबाट संकलन गरेका ५ वटा तरकारीको नमूनामा विषादीको मात्रा परीक्षण गरिएकोमा २ वटा नमूनामा रेड लेबल विषादी युक्त तरकारी भेटिएको हो।
डडेल्धुराबाट ल्याइएको काउली र कैलालीको गोलभेडामा रेड लेबल विषादी भेटिएको विषादी अवशेष दु्रत विश्लेषण इकाई अत्तरिया प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताएका छन्। उनले अत्तरिया तरकारी तथा फलफूल पसलमा राखिएको काउली र पाण्डे फलफूल तथा तरकारी पसलमा राखिएको गोलभेडाको नमूनामा रेड लेबल विषादीको मात्रा भेटिएपछि खान अयोग्य हुने भएकाले नष्ट गरिएको बताए।
यसअघि चालु आर्थिक वर्षमै साउन १२ गते सल्यानबाट ल्याइएको भेडे खुर्सानीमा रेड लेबल विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको थियो। त्यसपछि भने विषादी परीक्षणका लागि आवश्यक किट सकिएपछि करिब डेढ महिना देखि परीक्षणको काम रोकिएको थियो। शुक्रबार देखि विषादी परीक्षण सुरु गरिएको थियो। विषादी अवशेष द्रुत विश्लेषण इकाइले तरकारी फलफूलमा अर्गानोफस्फेट, कार्बोमेटको मात्रा परीक्षण गदै आएको छ।