धनगढी। आज अट्वारी पर्व । पश्चिम नेपालका थारु समुदायको प्रमुख मध्येको एक मौलिक सांस्कृतिक, धार्मिक पर्व । आज आइतबार अट्वारी पर्व धुमधामका साथ मनाइँदै छ ।
अट्वारी पर्व हरेक वर्ष भदौ शुक्ल पक्षको पहिलो आइतबार मनाइने गरिन्छ । अटवारी मुलतः थारू समुदायका पुरुषले मनाउने पर्व हो । तर, थारू समुदायका महिला पनि अटवारी ब्रत बस्ने गर्दछन् । पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ र सुर्खेत जिल्लाका थारू समुदायले अटवारी पर्व मनाउने गरेका छन् ।
अटवारीको अघिल्लो दिन अर्थात् शनिबार मध्य रातिमा दर खाएर यो पर्व शुरु हुन्छ । आइतबार ब्रत बस्ने गरिन्छ । र, साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा रोटी, पूरी पकाएर अटवारी पूजा गर्ने गर्दछन् । अटवारी पूजामा रोटी, काक्रो, दही, केरा, बेलौटीलगायतका अग्रासन झिकेर पूजा गरिन्छ । त्यसको भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ । फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन रहेको छ ।
अटवारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाइ र दिदीबहिनीबीच मायाप्रेम साट्ने पर्वका रूपमा स्थापित छ । त्यस्तै, अटवारीलाई एकता, विजय तथा भातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रूपमा मनाइने गरेको छ ।
भदौ ३१ गतेका दिन प्रदेश भरी सार्वजनिक सार्वजनिक विदा दिने गरी राजपत्रमै उल्लेख गरिसकेको छ भने कैलाली कञ्चनपुरका स्थानिय तहहरुले सूचना जारी गर्दै आवश्यकता अनुसार विदा घोषणा गरेका छन् ।कैलालीको कैलारी गाउँपालिकाले अट्वारी पर्वको अवसरमा आफनो क्षेत्रभित्रमा आज र भोली गरि दुई दिन विदा दिने घोषणा गरेको छ ।
ब्रत बसेका पुरुषहरूले बिहानभरि घरको कामकाज सकेपछि गहँ, चामल र अण्डी चामलको विभिन्न थरीका रोटी पकाउने गर्दछन् । यसका साथै दही, घ्यु, केरा, काक्रो, अम्बा आदि सगुनको रुपमा प्रयोग गरिन्छ । दिनभरीको ब्रतपछि साँझ सूर्य अस्ताउने बेला अन्नी पुजा गरेर अट्वारी ब्रत खोल्ने चलन छ । ब्रत खोले पनि ब्रतालुले तरकारी र नुन खुर्सानी भने खान पाइदैन ।अटवारी पर्वका क्रममा सोमबार बिहानै खानाका विभिन्न परिकारहरू ९भात, कर्कलो, तामा, गेडागुडी, पकौडी, खेरिया लगायत० तयारी गरी फलाहार गरिन्छ । आइतबारको ब्रत तोड्दा र सोमबार बिहान फलाहार गर्दा पहिलो भाग दिदीबहिनीका लागि छुट्याएर सोमबार नै दिदीबहिनीका घर पु¥याउने चलन छ ।
किम्वदन्ती अनुसार प्राचीनकालमा थारु समुदायका एक छोरीमाथि भइरहेको अत्याचारबाट उनलाई पाँच पाण्डव मध्येका माइला भाई भीमले उद्धार गरेको स्मरणमा उनै भीमको नाममा व्रत बस्ने र पुजाआजा गर्ने चलन छ ।अर्को किंवदन्ती अनुसार माहिला पाण्डव भिमले थारु राजा दंगीशरणलाई युद्धमा सहयोग गरेको कारण उनको लागि पुजाव्रत गर्ने गरेको पनि विश्वास गरिन्छ ।माहिला पाण्डव भिम सुर्खेतको काक्रेबिहार घुम्न आएको बेला दाङका राजामाथि शत्रुबाट आक्रमण भएपछि उतिखेर रोटी पकाउँदै गरेका भिमले काम छोडेर भोकभोकै दंगीशरणलाई सहयोग गरेको र उनको सहयोगमा राजा दंगिशरणले शत्रुमाथि विजय प्राप्त गरेका थिए । प्रचलनअनुसार अट्वारीमा विभिन्न थरीका रोटी पकाउने क्रममा एउटा ठूलो साइजको रोटी पकाइने गरिन्छ । यो रोटीलाई भिम रोटी भनिन्छ । भीमले रोटी पकाउँदा पकाउदै लडाईमा गएकाले त्यो रोटी एकातर्फबाट मात्रै पाकेको थियो । अट्वारीमा पकाइने भीम रोटी पनि एकातर्फमात्र पकाइन्छ ।