धनगढी। सरकारले कैलालीस्थित गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनका लागि विधेयक संसद्मा दर्ता गर्ने तयारी गरेको छ।
केही दिनभित्रै दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक संसद्मा दर्ता हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ। विधेयक तयार भएर मन्त्रिपरिषद्को विधायन समितिमा पुगिसकेको जनाइएको छ।
सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद् र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरेअनुसार गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै सुदूरपश्चिममा आन्दोलन हुँदै आएको थियो।
सरकारले जेठ १५ गते संसदमा पेश गरेको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर १ सय शय्याको अस्पतालमा मात्रै सीमित पारेपछि स्थानीयले संघर्षको कार्यक्रम घोषणा गदै आन्दोलित भएका थिए। गेटामा ६०० शय्याको पूर्णकालीन अस्पतालसहित स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्नुपर्ने यहाँका नागरिकको माग छ।