अछाम। अछाममा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन्।अछामको रामारोसन गाउँपालिका-७ भाटाकाटियाकी १४ वर्षीया राधिका परीयार बाघको आक्रमणमा परि घाइते भएकी प्रहरीले जानकारी दिएको छ।
उनलाई आज बिहान धारामा पानी भरीरहेको बेलामा बाघले आक्रमण गरेको हो।आक्रमणबाट राधिकाको दाहिने हात र छातीमा चोट लागेकाले बयलपाटा अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
यसअघि भदौ २४ गते चितुवाको आक्रमणबाट सोही गाउँपालिकाकी ३५ वर्षीया हैकला साउँद घाइते भएकी थिइन्।हैकलालाई गोठको छाना नजिकै घाँस काट्नेक्रममा गोठको छानामा लुकेर बसेको चितुवाले आक्रमण गरेको थियो। यस्तै सोहि पालिकाकै २१ वर्षीय सुर्यबहादुर साउँद र ३७ वर्षीय जगत साउँदलाई गोठभन्दा करिब पाँच सय मिटर टाढा मकैवारीमा घाइते अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउँदले बताएका थिए।घाइते तीनै जनाको स्थानीय स्वाथ्यचौकीमा उपचारपछि घर फर्किएका छन् । त्यस्तै ३ हप्ताअघि पनि सोही गाउँपालिका –७ सुतारमा एक बालकलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो।