धनगढी। कैलालीको धनगढीमा २६ लाख ६६ हजार मुल्य बराबरको अबैध भन्सार छलीको सामान बरामद गरिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलिले धनगढी वडा नम्बर ३ भन्सार नजिकबाट अबैध भन्सार छलीका सामान बरामद गरेको हो।
आज भदौ २८ गते बिहान ९ बजे भारतबाट नेपाल तर्फ आउँदै गरेको ना ५ख ४७३२ नम्बरको बसलाई रोकी चेकजाँच गर्दा मोवाईल पार्ट,नक्कली गरगहना,कर्क,ब्याट्री र ईन्भटर लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त बसमा सवार कञ्चनपुर दोधराचाँदनी वडा नम्बर ९ का ४० बर्षीय राहुल सिलवालले बस भित्र भारतबाट लुकाई छुपाई भन्सार छलि गरी ल्याउदै गरेको अवस्थामा ति सामाग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
२६ लाख ६६ हजार मुल्य बराबरका बिना बिलका अबैध सामानसहित राहुललाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय त्रिनगरमा बुझाईएको छ। उक्त अबैध सामान नियन्त्रणमा लिसकेपछि बसलाई गन्तव्य तर्फ पठाईसकिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।