बैतडी। महाकाली नदीमा ७० हजार रूपियाँ बोकेको झोला खसेको छ। किनमेलका लागि बिहीबार झुलाघाट बजार जाने क्रममा एक महिलाले बोकेको झोला मौराभीरबाट महाकालीमा खसेको हो।
दशरथचन्द नगरपालिका-२, देहिमाडौं रजुन्डाकी भागरथी बोहराले बोकेको झोला गाडीबाट ओर्लिने क्रममा सडक किनारबाट महाकालीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। भागरथी बोहरा बिहीबार किराना पसलको सामान किन्न झुलाघाट गएकी थिइन् । भागरथीका श्रीमान रोजगारीका लागि भारतमा छन्।
केही दिन अघि मात्रै उनका श्रीमानले ४५ हजार रुपियाँ पठाउनुभएको भागरथीले बताए । गाउँमा किराना पसल सञ्चालन गरेर गुजारा गर्दै आएकी भागरथीले पैसाको झोला महाकालीमा खसेपछि आसुँ खसाल्दै रित्तो हात घर फर्किनु परेको बताए ।
गाडीबाट ओर्लिने क्रममा साँघुरो सडक किनारबाट भागरथीको झोला भीरबाट महाकालीमा खसेको सशस्त्र प्रहरी बल नेपालको झुलाघाट सीमा पोष्टका ईन्चर्ज राजेन्द्रनाथ योगीले जानकारी दिए । झोला भीरमा अड्केको हुनसक्ने अनुमान गर्दै सशस्त्र प्रहरी बलको उद्धार टोलीले कम्मरमा रसी बाँधेर दुईसय मिटर तल भिर हुँदै महाकाली नदी किनारसम्म खोज गरे पनि झोला नभेटिएको उनले बताए । झोलामा नगदसहित बिक्रीका लागि हरियो काँक्रासमेत रहेका थिए।