धनगढी। कैलालीमा तरकारी तथा फलफूलमा रहेको विषादीको अवशेष परीक्षण प्रयोगशाला बन्द भएपछि विषाक्त तरकारी तथा फलफूल बिक्रीको खतरा बढेको छ। नेपाल सरकारको रातो किताबको जिरो बजेटमा केन्द्रीय कृषि प्रयोगशाला परेपछि सोअन्तर्गतका तरकारी तथा फलफूलमा रहेको विषादीको अवशेष परीक्षण प्रयोगशाला बन्द भएका छन् ।
विभिन्न ठाउँबाट ल्याई बजारमा बिक्री गरिने तरकारी तथा फलफूलमा रहेको विषादीको मात्रा परीक्षण गर्ने गरिएको कैलालीको अत्तरियास्थीत विषादी अवशेष दु्रत विश्लेषण इकाई कार्यालय डेढ महिनादेखि बन्द छ । सो प्रयोगशालामा अत्तरियाको कृषि उपज थोक बजारमा रहेकोमा किट उपलब्ध नभएपछि कार्यालय बन्द गरिएको हो ।विषादीको अवशेष परीक्षण गर्ने प्रयोगशाला बन्द भएपछि बिना परीक्षण तरकारी तथा फलफूल बिक्री भइरहेको छ । मावन स्वास्थ्यलाई प्रतिकूल असर गर्ने विषादीको अवशेष पाइएमा तत्काल नष्ट गर्ने गरिएको थियो ।
तर प्रयोगशाला नै बन्द भएपछि विना परीक्षण बजारमा तरकार र फलफूल बजारमा गइरहको प्रयोगशालाका प्राविधिक राजेन्द्रप्रसाद भट्टले बताए । उनले दैनिक ५–१० वटा तरकारी तथा फलफूलका नमुना परीक्षण गर्दा कुनै न कुनै नमुनामा विषादी भेटिएको बताए । उनले प्रयोगशालामा पछिल्लो पटक साउन १२ गते तरकारीका ६ नमुना परीक्षण गर्दा एउटा तरकारीको नमुनामा खान नमिल्ने विषादीको मात्रा फेला परेको बताए ।
सल्यानबाट ल्याइएको भेडे खुर्सानीमा रेड लेबलको विषादी भेटिएपछि त्यसलाई बजारमा जान नदिई नष्ट गरिएको थियो । ‘त्यसपछि परीक्षण गर्नका लागि किट सकिएको प्राविधिक भट्टले बताए । उनले अहिले कार्यालय नै बन्द गरिएको बताए । केन्द्रीय कृषि प्रयोगशालाले अस्थायी रूपमा सञ्चालन गरेको सो प्रयोगशालामा कर्मचारी पनि करारमै राखिएका थिए । कार्यालयमा एक जना प्राविधिक र सहयोगी करारमा नियुक्त गरिएका थिए । करारमा रहेका आफूहरूको चालु आर्थिक वर्षमा करार थप नगरिएकाले कार्यालय बन्द भएको प्राविधिक भट्टले बताए । करार थप नभए पनि हामीले तरकारी तथा फलफूलको नमुना संकलन गरेर विषादी परीक्षण गर्दै आएको उनले भने ।
साउन १२ गते किट नै सकिएपछि हामी कार्यालयमा गएर पनि काम नभएको बताए ।नयाँ आर्थिक वर्षमा हाम्रो नियुक्ति पनि थप गरिएको छैन । नियुक्ति थपिने जानकारी दिइए पनि लामो सयमसम्म टुङ्गो नलाग्दा के हुने हो भन्ने हामी पनि अन्योलमा छौं ।’ केन्द्रीय कृषि प्रयोगशाला नै जिरो बजेटमा परेपछि किट खरिद गर्न र करारका कर्मचारीलाई तलब खुवाउन बजेट अभाव भएकाले अस्थायी कार्यालय बन्द भएको केन्द्रीय कृषि प्रयोगशालाका निमित्त प्रमुख राजीवदास राजभण्डारीले बताए ।
उनले बजेट अभावमा अस्थायी रूपमा सञ्चालन गरिएको कैलालीको अत्तरिया, झापाको बिर्तामोड, सर्लाहीको नवलपुर, काठमाडौंको कालिमाटी, कास्कीको पोखारा, रुपन्देही वुटवल र बाँकेको नेपालगन्जमा रहेको प्रयोगशाला बन्द गरिएको बताए । उनले जिरो बजेटकै कारण ती सातवटै प्रयोगशाला बन्द भएको बताए ।
उनले केन्द्रीय कृषि प्रयोगशालामा स्थायी कर्मचारी भएकाले कार्यालय चलेको बताए । निमित्त प्रमुख राजभण्डारीले आफूहरूको समेत तलब नआएको बताए । उनले बजेट माग गरी विभागमार्फत् मन्त्रालयमा पठाइएको बताए । बजेट आएपछि ती कार्यालय सञ्चालन हुने उनले बताए । गत आर्थिक वर्षमा अत्तरियास्थित प्रयोगशालाले दुई हजार ५३२ तरकारी तथा फलफूलको नमुनाको विषादी परीक्षण गरेको थियो । जसमा आठ नमुनामा ग्रिन र येलो लेबलको विषादीको मात्रा भेटिएकाको थियो भने १३ नमुनामा प्रयोग नै गर्न नमिल्ने (रेड लेबल) विषादीको मात्रा भेटिएकाले नष्ट गरिएको थियो । प्राविधिकका अनुसार ३५ प्रतिशतभन्दा तल विषादीको मात्र भेटिए ग्रिन लेबल र ३५ देखि ४५ प्रतिशत विषादी भेटिए येलो लेबलमा राखिने गरिन्छ ।
यस्तो तरकारी केही दिन होल्ड गरेर पुनः परीक्षण गरी प्रयोग गर्न मिल्ने भेटिएपछि बजारमा पठाउने गरिन्छ । ४५ प्रतिशतभन्दा माथि विषादीको मात्रा भेटिएमा भने सिधै नष्ट गर्ने गरिन्छ ।अत्तरियाको विषादी अवशेष दु्रत विश्लेषण इकाई कार्यालय बन्द भएपछि प्रयोगशाला कञ्चनपुरको गड्डाचौकीस्थित क्वारेन्टिनका कार्यालयको जिम्मा लगाइएको छ । तर सो प्रयोगशालाको जिम्मेवारी पाएका क्वारेन्टिन कार्यालयका बाली संरक्षण अधिकृत प्रमोद ठगुन्ना तालिम लिन विदेशमा छन् ।
गड्डाचौकीस्थित क्वारेन्टिनका कार्यालयका एकमात्र स्थायी कर्मचारी अध्ययन बिदामा विदेश गएको र अस्थायी कर्मचारीको करार नथपिनुका साथै किट अभाव भएपछि सुदूरपश्चिममा रहेको तीनवटै तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने प्रयोगशाला बन्द छ । कर्मचारी अभावका कारण क्वारेन्टिन कार्यालय गड्डाचौकी र त्यस कार्यालयको टुरमुकाम मोहना, धनगढीको प्रयोगशाला पनि बन्द छ । प्रयोगशाला बन्द भएपछि बजारमा विषाक्त तरकारी र फलफूल बिक्री भई मानव स्वास्थ्यमा प्रतिकूल असरपर्ने जोखिम बढेको छ ।