काठमाडौं। सरकारले शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालय फेरि ब्यूँताउने प्रस्ताव गरेको छ। बुधबार संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा केन्द्र सरकार मातहतका निकाय शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालयलाई ब्यूँताउने प्रस्ताव गरिएको हो।
विधेयकमा विद्यालय शिक्षाको राष्ट्रिय नीति, योजना र मापदण्ड कार्यान्वयन गर्न वा गराउन तथा विद्यालय शिक्षा सम्बन्धमा अन्य आवश्यक कार्य गर्न शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा विभाग रहने व्यवस्था राखिएको छ।सरकारले ९ जेठ २०५६ शिक्षा विभाग गठन गरेको थियो।
तर संघीयता कार्यान्वयनसँगै विद्यालय शिक्षाको धेरै अधिकार स्थानीय तहमा गएको भन्दै शिक्षा विभागलाई शिक्षा तथा मानवस्रोत विकास केन्द्र नामरण गरिएको थियो । तर विद्यालय शिक्षासम्बन्धी विधेयक ल्याउँदा सरकारले पुनः शिक्षा विभागलाई ब्यूँताएको हो। त्यस्तै विद्यालयहरुको जिल्लागत समन्वय गर्न, राष्ट्रिय परीक्षा बोर्ड र शिक्षक सेवा आयोगको काममा प्रभावकारिता कायम गर्न जिल्ला शिक्षा कार्यालय पनि ब्यूँताउने प्रस्ताव गरिएको छ ।
संघीयता कार्यान्वयनपछि ७७ जिल्लाका जिल्ला शिक्षा कार्यालय खारेज गरेर शिक्षा विकास तथा समन्वय इकाइ राखिएको थियो। विधेयक हुबहु पारित भए अहिले स्थानीय तहहरुले अभ्यास गरिरहेको आधारभूत विद्यालयको प्रश्नपत्र निर्माणदेखि प्रधानाध्यापक नियुक्तिको अधिकारसम्म शिक्षा कार्यालयले पाउनेछन्। दफा १६ मा विद्यालयको प्रधानाध्यापक चुन्ने अधिकार शिक्षा कार्यालयको प्रमुखको नेतृत्वमा रहने समितिलाई हुने उल्लेख छ ।
दफा २७(२) मा आधारभूत शिक्षा उतीर्ण (कक्षा ८ सम्म) परीक्षाको मूल विषयको प्रश्नपत्र शिक्षा कार्यालयले बनाउने उल्लेख छ। हाल आधारभूत तह उतीर्ण परीक्षा स्थानीय तह स्तरमा हुँदै आएको छ ।विधेयकमा शिक्षा कार्यालयलाई ९ प्रकारको अधिकार दिने प्रस्ताव गरिएको छ। शिक्षा कार्यालयलाई प्रदेश सरकारको शिक्षा हेर्ने मन्त्रालयसँगको समन्वय गर्ने जिम्मेवारी पनि तोकिएको छ ।त्यस्तै विद्यालयहरुको नक्सांकन गर्ने, स्थानीय तहहरुसँग समन्वय गरी सार्वजनिक विद्यालयको अनुगमन र सुपरीवेक्षण गर्ने जिम्मेवारी पनि शिक्षा कार्यालयलाई तोकिएको छ ।
विद्यार्थीको सिकाई मूल्यांकन र जिल्लाको शैक्षिक तथ्यांक संकलनको काम पनि जिल्ला शिक्षा कार्यालयले गर्नेछन्। शिक्षकहरुको तालिम र क्षमता विकास कार्यक्रम गर्ने, सार्वजनिक विद्यालयको सम्पत्तिको अभिलेख राख्ने काम पनि जिल्ला शिक्षा कार्यालयले गर्ने प्रस्ताव गरिएको छ। शिक्षक तथा विद्यालयलाई पुरस्कार र प्रोत्साहन गर्ने, संघीय र प्रदेश सरकारले तोकेका अरु काम गर्ने पनि जिल्ला शिक्षा कार्यालयको जिम्मेवारी तोकिएको छ।


