दार्चुला। दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बलको नेपाल बोर्डर आउट पोष्ट (बीओपी)स्थापना भएको छ। शुक्रवार हिजो दार्चुलाको व्याँस गाउँपालिका वडा १ छयाँलेकमा बीओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाले जनाएको छ।
चीन सीमा नजिक तिङ्करमा बीओपी स्थापना गर्न भारतको बाटो हुँदै प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल(एआईजी) को टोली तिङ्कर पुगेको थियो । तिङ्करमा बीओपी स्थापना भएसँगै जिल्लामा बीओपीको सङ्ख्या पाँच वटा पुगेको छ। दार्चुलाको दुम्लिङ, दत्तु, जोलजीवी सुन्सेरा र लालीमा बीओपीहरु स्थापना भएका छन्।
तिङ्करमा बीओपी स्थापना भएसँगै सीमा क्षेत्रको सुरक्षा प्रभावकारी हुने र चोरीतस्करी नियन्त्रण हुने सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमसिंह धामीले बताए। तिङ्करमा सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टर जनक बहादुर पौडेलको नेतृत्वमा २० जनाको टोली बस्ने भएको छ। व्यास गाउँपालिकाको वडा नम्बर २ को माल र मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ बाँकुमा रहेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा पनि सशस्त्र प्रहरीको पोष्ट राखिएको छ।
भारतसँग सीमा जोडिएका व्यासको सीतापुल, सुन्सेराको मलघट्टे, खलङ्गाको घाटबजार, दत्तु, जोलजीवी र लालीमा रहेको महाकाली नदीको झोलुङ्गे पुलमा पनि सशस्त्र प्रहरीको नियमित सुरक्षा उपस्थिति रहेको ४४ नम्बर गणका गणपति डम्बरबहादुर विष्टले जानकारी दिए। नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सीमाबिन्दुहरुमध्ये व्यास गाउँपालिकाको वडा नम्बर ५ तिगरम र वडा नम्बर ६ बडुगाउँको झोलुङ्गे पुलबाहेक अन्य सबै ठाउँमा सशस्त्र प्रहरीको उपस्थिति रहेको छ ।
व्यास गाउँपालिकाको तिङ्कर, कौवाक्षेत्र र बडुगाउँ तथा लेकम गाउँपालिकाको रतौडामा थप बीओपी स्थापनाको काम भइरहेको छ । मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा रहेको बीओपीलाई सीमा सुरक्षा गुल्म बनाइएको छ । लाली र दुम्लिङको बीओपीमा इन्स्पेक्टरको कमाण्डमा फौज परिचालन गरिएको छ । सुन्सेरा र दत्तुमा सईको नेतृत्वमा सशस्त्र प्रहरीको टोली रहेको छ । अतिक्रमित भूमि नजिकको छाङरु गाउँको गागामा ५० नम्बर गुल्मको नेतृत्व डीएसपीले गरिरहेका छन् । सीमाक्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा दिनथालेपछि अहिले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु खुशी भएका छन्।