धनगढी। चैतन्य एकेडेमीको आयोजनामा सुशासन, दिगो तथा समृद्धि सेमिनार हुने भएको छ । विभिन्न क्षेत्रका विज्ञको सहभागितामा आगामी असोज १२ र १३ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा १०औं राष्ट्रिय सेमिनार आयोजना हुने भएको हो।
‘सुशासन, दिगो विकास तथा समृद्धि’ विषयक सम्मेलन सञ्चालन हुने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले जानकारी दिए। समृद्ध नेपालको लागि सुशासन र दिगो विकास प्राथमिक विषय भएकाले विगत १० वर्षदेखि यसै विषयमा बौद्धिक बहस चलाउँदै आएको चैतन्यले यसै विषयमा आवासीय सेमिनार गर्न लागेको जोशीले जानकारी दिए। सेमिनारमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीदेखि निजी क्षेत्रसम्मका सरोकारवालाहरूको सहभागिता रहने छ।
सन् २०१४ बाट राष्ट्रिय सेमिनारका रूपमा निरन्तरता दिइरहेको कार्यक्रममा आम नेपालीको समृद्धिको चाहना परिपूर्ति गर्न,वास्तविकतामा उतार्ने र यथार्थपरक तुल्याउन कार्यक्रम लक्षित हुने उनको भनाइ छ। उनले भने, कार्यक्रममा देशमा उपलब्ध थिङक ट्यांकहरू जसले अर्थशास्त्रको परिप्रेक्षबाट देशको समृद्धिलाई बुझ्नुभएको छ, जसले समाजशास्त्रको दृष्टिबाट समृद्धिलाई बुझ्नुभएको छ, जसले शिक्षाको क्षेत्रबाट देशको समृद्धिलाई बुझ्नुभएको छ।
स्वास्थ्यको क्षेत्रबाट, राजनीतिको क्षेत्रबाट देशको समृद्धिलाई बुझ्नुभएको छ। अर्थात् मानव जीवनका अत्यन्त महत्त्वपूर्ण अन्तरसम्बन्धित विषयवस्तु, जो समग्र समृद्धिका निम्ति अहम् रहेका छन् ती विषयहरूमा चिन्तन गरिने एउटा बौद्धिक चिन्तकका रूपमा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ र अहिलेको कार्यक्रम पनि त्यसकै निरन्तरता हो, उनले भने ।कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकले आआफ्नो विषय विज्ञताको क्षेत्रका दृष्टिकोण व्यक्त गर्ने छन्। त्यसको अलावा संघीयता र समृद्धिको आधार स्थानीय सराकार भएकाले यसमा स्थानीय तहका जनप्रतिनिधिहरू, प्रशासकहरूको पनि कार्यक्रममा सहभागिता रहने जोशीले बताए।
शिक्षा, स्वास्थ्य, निजी क्षेत्रका विद्यालय, शिक्षालय र विश्वविद्यालयमा संलग्न शिक्षाकर्मीहरूले पनि यसअघिका सेमिनारमा सहभागिता जनाएको उनले स्मरण गरेका छन्। उद्यमशीलता र औद्योगिक विकाशसँग जोडिएका व्यवसायीहरू, बैंक, इन्सुरेन्स र वित्तीय क्षेत्रसँग जोडिएका व्यक्तित्वहरू, स्वतन्त्र अद्यताहरू, अनुसन्धानकर्ताहरूदेखि विद्यार्थीहरू पनि यसमा सहभागी हुने गरेको जोशीले बताए।जोशीले नागरिक र निजी संस्था समृद्धिको संवाहक बन्नसक्छ भन्ने आत्मबोध गराउने सम्मेलनको उद्देश्य भएको बताए। विगतका सम्मेलनहरूबाट प्रतिक्रियाले नै यो क्रम १०औं श्रृङ्खलासम्म पुग्न सफल भएको उनले बताए।
यसका साथै यहि सम्मेलनमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलाई एक लाख राशिको सुशासन पर्वद्धन र प्रसाशन सुधार पुरस्कार समेत प्रदान गरिने उनले जानकारी दिए। सम्मेलनका सभाध्यक्ष एवं पूर्वमुख्य सचिव डा. विमल कोइरालाले दुई दिने सम्मेलनले सरकारले लिएको चौतर्फी विकास तथा सन् २०३० सम्मका लागि लिइएको दिगो विकासको लक्ष्यलाई साकार तुल्याउन सहयोग पु¥याउनेमा विश्वास व्यक्त गरे। सम्मेलनले नेपाली समाजमा व्याप्त निराशाबिच आशा जागरुक गर्ने विश्वास लिएका छौं। अर्कातर्फ शासन व्यवस्थामा सुधार गरेर लोकतन्त्रको लाभांश जनतासम्म कसरी पु¥याउने भन्ने सोचका साथ यो सम्मेलन आयोजना हुँदैछ, उनले भने। काभ्रेको धुलिखेलस्थित आगन्तुक रिसोर्टमा सञ्चालन हुने उक्त सम्मेलनमा अर्थव्यवस्था, राजनीतिज्ञ, शिक्षा र स्वास्थ्य, सांस्कृतिक र शासकीयलगायत सम्बन्धित क्षेत्रका विज्ञको सहभागिता हुनेछ। सम्मेलनले नेपालको चौतर्फी रूपान्तरणसँग सम्बन्धित आयाम पहिचान गर्ने उनको भनाइ छ।