धनगढी। कैलालीको मोहन्याल गाउँपालिकाको बिवाद अझै साम्य हुन सकेको छैन्। पटक पटक मोहन्याल गाउँपालिकाको कार्यालय सार्ने निर्णय गर्दा गाउँपालिकाको बिवाद साम्य हुुनु भन्दा झन् उग्र बन्दै गएको छ।
२०८० असार १० गते गाउँपालिकाको १२ औं गाउँसभामा हाल वडा नं. ४ को खिमडीमा रहेको पालिकाको कार्यालय वडा नं. १ को भकुण्डेटारमा सार्ने बहुमतले निर्णय गरेपछि स्थानीयले गाउँसभामै आक्रमण भएको थियो। सभामै स्थानीय जनताबाट जनप्रतिनिधिहरु कुटिएको घटना मत्थर नहुँदै फेरि विवाद सतहमा ल्याइएको छ। झन अहिले गाउँपालिकाको केन्द्रलाई लिएर कैलालीको मोहन्यालका अध्यक्ष देवीदत्त उपाध्याय ‘हिमशिखर’ र उपाध्यक्ष कमल बहादुर साउँद टकराव बढेको छ ।
स्थानीय तहको पुनःसंरचनाको क्रममा मोहन्यालमा वडा नम्बर २ को खिमडीमा गाउँपालिकाको केन्द्र तोकिएको थियो । सुरुमा साबिकका पण्डौन, सुगरखाल र मोहन्याल गाविस मिलाएर गाउँपालिका बनाइएको थियो । सोही क्रममा पालिका केन्द्र खिमडीसम्म पैदल हिँडेर ३/४ दिन लाग्ने र सेवाग्राहीलाई सेवा प्रदान गर्न सास्ती भएपछि पालिकाको केन्द्र पायक पर्ने ठाउँमा सार्न आवाज उठ्न थाल्यो । भौगोलिक विकटता, सेवा प्रवाहमा असहजता, भौतिक पूर्वाधार, टेलिफोन, स्वास्थ्य, बिजुली, खानेपानी, यातायात लगायतको पहुँच नभएकाले सबैलाई पायक पर्ने गरी केन्द्र सार्नुपर्ने माग उठेको छ।
गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय ‘हिमशिखर’ को फेसबुक स्टाटसले फेरि विवाद बढ्दै गएपछि हाल गाउँपालिकाको काम कारबाही समेत प्रभावित बनेको छ ।अध्यक्षले भदौ १५ गते आफ्नो फेसबुक वालमा अध्यक्ष हिमशिखरले हार्दिक अपिल भन्दै केन्द्र सार्ने विषय अब सम्भव नभएकाले हाल कायम भएकै खिमडीमा थप संरचना बनाई स्थायी कार्यालय सञ्चालन गर्ने र सबै वडाबाट खिमडीसम्म आउने सडक पूर्वाधार निर्माणलाई तीव्रता दिएर खिमडीलाई सबै वडाको दुरीबाट छोट्याउने उल्लोख गरेका थिए ।
साथै केन्द्र हेरफेरको च्याप्टर क्लोज गरेर सबै जनप्रतिनिधिहरुले बाँकी रहेका वडाबाट योजना कार्यक्रम पेस गरेर बजेट कार्यान्वयन गर्न र जनताका दैनिक विकास निर्माण जनजीविकाका कुरामा सहजीकरण गर्दै नियमित बैठकमा उपस्थित हुन उनले अनुरोध गरेका थिए । उनले लेखेका छन्, ‘मोहन्याल गाउँपालिकाको केन्द्रलाई लिएर विगत ६/७ वर्षदेखि बहस विवाद छलफल हुँदै आएको तर एउटा निष्कर्षमा पुग्न नसकिएको विषय हो । गत बजेट अभिवेशनको गाउँसभामा सहमति नजिक पुगे पनि कानुनी हिसाबले मत विभाजनको डकुमेण्टमा हालसम्म आवश्यक दुई तिहाइ सदस्यको हस्ताक्षर नपुगेकाले २०८० असार १० गतेदेखि आज २०८० भाद्र १५ गतेसम्म पनि दुई तिहाइ सदस्यको (बैठकमा उपस्थित अनुपस्थित सबैको) हस्ताक्षर गरेर बुझाउन मैले समय उपलब्ध गराएको बताए ।
अब उप्रान्त एउटै विषयमा जनप्रतिनिधिहरु विभाजित हुनुभन्दा हाल कायम भएकै खिमडीमा थप संरचना बनाई स्थायी कार्यालय सञ्चालन गर्ने र सबै वडाबाट खिमडीसम्म आउने सडक पूर्वाधार निर्माणलाई तीव्रता दिएर खिमडीलाई सबै वडाको दुरीबाट छोट्याउने कार्य गर्नु नै हामी सबैको विकल्पको बुझाइ रहेको बताए । अब केन्द्र हेरफेरको च्याप्टर क्लोज गरेर सबै जनप्रतिनिधिहरुले बाँकी रहेका वडाबाट योजना कार्यक्रम पेस गरेर बजेट कार्यान्वयन गर्न र जनताका दैनिक विकास निर्माण जनजीविकाका कुरामा सहजीकरण गर्दै नियमित बैठकमा उपस्थित का लागी अनुरोध गरेका छन् यता उपाध्यक्ष साउदले कानुनी लडाइँका लागि अख्तियार र अदालतमा जाने बताएका छन् ।
अध्यक्षको त्यो अपिलपछि खिमडीको विपक्ष अर्थात भकुण्डेटारमा केन्द्र सार्ने पक्षमा हस्ताक्षर गरेका गाउँपालिका उपाध्यक्षसहितका जनप्रनिधिहरु विरोधमा उत्रिएका छन् । उनीहरुले गाउँपालिकाको केन्द्र भकुण्डेटार सार्ने गरी भएको निर्णय गाउँपालिका अध्यक्ष ‘हिमशिखर’ ले गायब पारेको आरोपसमेत लगाएका छन्। उनीहरुले न्यायका लागि अख्तियार र अदालतसम्म जाने चेतावनी दिएका छन् । गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउद, वडा नं. १ का वडाध्यक्ष प्रेम बुढा, वडा नं. ३ का वडाध्यक्ष नन्दाराम गिरी, वडा नं. ६ का वडाध्यक्ष कृष्णबहादुर शाही र वडा नं. ७ का वडाध्यक्ष नवराज कठायतले यस्तो चेतावनी दिए । उनीहरुले गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।
मोहन्याल गाउँपालिकाका उपाध्यक्ष साउदले भने, ‘गत असार १० गतेको गाउँसभाबाट मोहन्याल केन्द्र हेरफेर र बजेटको प्रस्ताव दुई तिहाइ सदस्यको हस्ताक्षरसहित पारित भइरहेको बताए । यो निर्णय हुबहु कार्यान्वयन हुनुपर्छ । लामो समयदेखि विवादित मोहन्यालको केन्द्रका विषयमा अध्यक्ष हिमशिखरज्यूले जुन ढंगले पारित नभएको र कार्यालय खिमडीबाटै सञ्चालन गर्ने अभिव्यक्ति दिनुका साथै उहाँको पछिल्लो फेसबुक स्टाटसले जनतामा नैराश्यता र भ्रमित बनाएको उनले बताए । गाउँ सभामा गएका दुवै प्रस्ताव पारित हुनुपर्ने र ‘अध्यक्षको अभिव्यक्ति र बलमिच्याइँविरुद्ध कानुनी लडाइँका लागि अख्तियार र अदालतमा जाने बताए । यस्तै, वडा नं.३ का वडाध्यक्ष नन्दराम गिरीले तत्कालीन पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीको समेत मिलेमतोमा योजनाबद्ध ढंगले सो निर्णयको पाना गायब गरिएकोे आरोप लगाए ।
यसैबीच अध्यक्ष हिमशिखरले आफू अझै पनि पालिका केन्द्र भकुण्डेटारको पक्षमा रहेको बताए। तर आफूलाई पत्रकार सम्मेलन नै गरेर भकुण्डेटारको पक्षमा छ भनेर संगीन आरोप लगाएको दुखेसो उनले सुनाए । भकुण्डेटार सार्नु पर्छ भन्ने प्रस्तावक नै मै आफु रहेपनी अझै पनि त्यसैको पक्षमा रहेको बताए ।तर उत्पन्न परिस्थितिका कारण अब यस विषयलाई थाती राखेर विषयमा ध्यान दिनुपर्छ भनेको उनको भनाई छ । त्यस्तै, उनले आफूविरुद्ध गए त्यसको प्रतिवाद पनि गर्ने चेतावनी दिए । उनले विकासको काम गर्ने बेला त्यसैमा अल्झिराखे पालिकावासी पनि स्थानिय चुप लागेर नबस्ने बताए।