धनगढी। कैलाली उद्योग बाणिज्यसंघले कैलाली भंसार कार्यालयमा प्लान्ट क्वारेन्टाईनको टुरमुकाम संचालन र स्थायी कार्यालय स्थापना गर्न माग गरेको छ। आईतबार उद्योग बाणिज्यसंघको सभाहलमा आयोजना गरिएको पत्रकार सम्बेलनमा उद्योग ब्यवसायीले सो माग गरेका हुन्।
उद्योग ब्यवसायीहरुले संघिय सरकारको अस्पष्ट नितीका कारण उद्योगी, ब्यवसायीका साथै आम उपभोक्ता आर्थिक मारमा परेको र थप अन्यौलता सिर्जना भएको संघका बरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले बताए। उनले ब्यवसायी र उपभोक्ता राज्यको अस्पष्ट नितीका कारण खाद्य योग्य, पशुपक्षि आहारका लागी चाहिने कच्चा पदार्थ र खाद्य बस्तुमा भोग्नुपर्ने, मुल्य बृद्धि तथा अभावले दैनिकीलाई प्रभाबित पारेको बताए।
कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले नजिकै आउँदै गरेको दशैँ दिपावली तथा छठ लगायतका चाडबाड महङ्गीने बताए । सहजीकरणका लागी प्लान्ट क्वारेन्टाइन तथा बिषादी अन्वेषण केन्द्र काठमाण्डौँमा फोन गर्दा कैलाली नाकालाई अवैधानिक नाकाको रुपमा ब्याख्या गर्ने र अमर्यादित शैलीमा अव्यवहारीक जवाफ फर्काउने र सुदुरपश्चिमप्रति संघ सरकारले गर्ने ब्यवहार फरक रहेको बताए । साथै बिज्ञप्ती मार्फत उनले चाडवाडको मुखमा बस्तुको अभाब श्रृजना हुने र सामाजिक सद्भाब समेत असर पार्ने अवस्था आउन सक्ने बताए।
यस्तो सम्भावनालाई निरत्साहित गर्न संघले सरकारलाई आ आफ्नो नितीमा यथासिघ्र पुनरावलोकन गर्न र सोबाट श्रृजना हुने ब्यवसायीक असहज परिस्थीती र अवस्थाको जिम्मेवार सरकार आफै हुनुपर्ने जानकारी दिए । कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय कर्मचारीविहीन भएपछि भारतबाट आउने खाद्यान्न, तरकारी र फलफूलको आयात ठप्प भएको छ । २२ दिनदेखि खाद्यान्न, तरकारी र फलफूल नआएको कैलाली भन्सार कार्यालयले जनाएको छ। प्लान्ट क्वारेन्टाइन कार्यालयले नेपाल आयात हुने खाद्यान्न,तरकारी र फलफूलमा किराजन्य संक्रमण चेकजाँच गर्छ।
खाद्य प्रविधिको जाँच गरेपछि प्लान्ट क्वारेन्टाइनले किराजन्य संक्रमणको जाँच गरेपछि मात्रै खाद्यान्न, तरकारी र फलफूलजन्य वस्तु नेपाल भित्रिने गर्छ ।सुदूरपश्चिमका लागि प्लान्ट क्वारेन्टाइनको मुख्य कार्यालय कञ्चनपुरको गड्डाचौकी नाकामा छ । गड्डाचौकी– बनबासा नाकाबाट सामान आयात गर्नका लागि भारतले शारदा नदीको पुलमा बढी भार भएका मालबाहक साधन आउन दिँदैन । उता नेपालगञ्जको रुपैडिहा नाका भएर आयात गरे प्रदेशको राजश्वमा पनि कमी आउने र खाद्यान्न, तरकारी र फलफूलको मुल्य पनि बढने व्यवसायीहरुले बताएका छन् । ‘प्लान्ट क्वारेन्टाइनमा २२ दिनदेखि प्राविधिक नहुँदा नेपालगञ्जको नाका प्रयोग गर्नुपर्छ। त्यहाँबाट किलोमा १० रुपैयाँ ढुवानी खर्च बढ्छ ।
कैलाली भन्सार कार्यालयले पनि यस नाकाबाट आयात हुने मुख्य वस्तु नै खाद्यान्न, तरकारी र फलफूल रहेको जनाएको छ । ‘मासिक २० करोडको राजश्व खाद्यान्न, तरकारी र फलफूलजन्य सामानबाट संकलन हुन्छ । तर २२ दिनदेखि यी सबैको आयात ठप्प भएको छ । सीमा नाकामा सरकारले प्लान्ट,पशु र खाद्य क्वारेन्टाइन कार्यालय खोलेको छ । प्लान्ट क्वारेन्इईनले खाद्यान्न, तरकारी र फलफूलमा भएको रोग तथा किरा परीक्षण गर्छ । सोही नाकाहुँदै ठूलो परिमाणको तरकारी, फलफूल, चामल, दाल, बदाम, तोरी, पशुआहार, मकै र गहुँ भारत तथा तेस्रो मुलुकबाट समेत आयात हुने गरेको छ ।