धनगढी। सुदूरपश्चिम प्रदेशमा दूध, माछामासु, अण्डाको माग बढी भएपनी वार्षिक रूपमा उत्पादन भने न्युन देखीएको छ। सुदूरपश्चिम सरकारले माछामासु, दूध र अण्डाको उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको भएपनी माग बढी र उत्पादन घटेको प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको हो।
सुदुरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वार्षिकको माग अनुरुप आपूर्ति हुन सकेको छैन्। निर्देशनालयका अनुसार प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यक रहेकोमा प्रदेशमा ८० दशमलब ७२ लिटर उपलब्ध छ भने प्रतिव्यक्ति वार्षिक १४ किलो मासु आवश्यक रहेकोमा १० दशमलब ६८ किलो उपलब्ध छ । त्यस्तै प्रतिव्यक्ति वार्षिक ४८ गोटा अण्डा आवश्यक रहेकोमा ३० गोटा उपलब्ध छ ।
सुदूरपश्चिममा गत आर्थिक वर्ष २०७९/०८० मा दुई लाख ४४ हजार टन दूध, ३१ हजार ९० टन मासु र ९१ लाख गोटा अण्डा उत्पादन भएको निर्देशनालयले जनाएको छ । राष्ट्रिय उत्पादनमा सुदूरपश्चिमको योगदान दूधमा ११ दशमलब २, मासुमा नौ र अण्डामा ६ प्रतिशत छ । प्रदेशमा आवश्यक दूध, मासु, अण्डा आयात गरी आवश्यकता पूर्ति भइरहेको निर्देशनालयले जनाएको छ । स्थापना भएदेखि प्रदेश सरकारले दुध, मासु, अण्डा, माछा, दलहन, फलफूल, खाद्यान्न बिउ, तरकारी, आलु, प्याज उत्पादनमा पाँच वर्षभित्रै आत्मनिर्भर प्रदेश बनाउने नीति लिए पनि सो लक्ष्य पूरा हुन सकेको छैन।
सो नीति लिन थालेको छैठौं वर्षको नीति तथा कार्यक्रममा पनि प्रदेश सरकारले सो वस्तुमा उत्पादनमा पाँच वर्षभित्र आत्मनिर्भर प्रदेश बनाउने लक्ष्य लिएपनी बजेट र कार्यक्रम प्रभावकारी रूपमा विनियोजन र कार्यान्वयन नहुँदा उत्पादन वृद्धिदर न्युन छ। कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश अभियान’ सञ्चालन गरी आगामी पाँच वर्षभित्र दलहन, मसलाबाली र फलफूलमा आन्मनिर्भर हुने नीति लिइने आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा व्यवस्था गरेको उल्लेख छ । तरकारी, आलु, खाद्यान्न बिउ, केरा, दूध, मासु र अण्डामा आत्मनिर्भर हुने विशेष कार्यक्रम सञ्चालन गरिने व्यवस्था गरेको उल्लेख छ ।
बजेटमा समेत कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश अभियान सञ्चालन गर्ने पर्याप्त बजेट व्यवस्था गरेको बताएको छ ।
तर रातो किताबमा दूध, मासु र अण्डा उत्पादनका कार्यक्रममा पाँचदेखि २० लाख रुपैयाँसम्मको टुक्रे योजनामात्रै समेटिएका छन् । नौं वटै जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपंक्षी पालनका लागि गर्ने कार्यक्रममा विगतको भन्दा बजेट घटेको देखिएको छ। प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी पुस्कर नाथले अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा दूध, मासु, अण्डाको उत्पादन बढेको बताए। उनले लम्पी स्किनका कारण दूध उत्पादनमा केही बाधा परे पनि उत्पादन वृद्धि भएको बताए ।
उनले उपलब्ध गराएको तथ्यांकअनुसार प्रदेशमा दुधालु गाई एक लाख ४३ हजार छन् भने दुधालु भैंसी एक लाख ४४ हजार छन् । उनले गाईको दूध एक लाख तीन हजार टन र भैंसीको दूध एक लाख ४१ हजार टन उत्पादन भएको बताए । प्रदेशमा गाईको संख्या घटेको बताए ।
०७७/०७८ बाट ०७९/०८० मा आउँदा १६ हजारले गाईको संख्या घटेका छन् , सो समयमा भैंसीको संख्या पाँच हजार ४०१, भेडाको संख्या दुई हजार ४२९, बाख्रा एक हजार ७१०, बंगुर, तीन हजार ३१२, कुखुरा दुई हजार २४२ र हाँस १८२ ले बढेको निर्देशनालयको तथ्यांक हो । दुई वर्ष लगाएर यो संख्यामा वृद्धि हुँदा पशुपंक्षी पालन वृद्धिदर निकै कम देखिन्छ। सुदूरपश्चिम प्रदेश सरकारले दूध, मासु र अण्डा उत्पादनमा आत्मनिर्भर विशेष कार्यक्रम सञ्चालन गर्ने नीति लिएको भए पनि सोसम्बन्धी कार्यक्रम केन्द्रित गरिएको छैन । निर्देशनालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १७ करोड ७३ लाख रुपैयाँ विनियोजन भएकोमा ९१ प्रतिशत खर्च भएको थियो।
निर्देशनालयको सूचना अधिकारी पुस्कर नाथले आर्थिक वर्ष २०७८/०७९ मा १४ करोड ७२ लाख रुपैयाँ विनियोजन भएकोमा ३९ प्रतिशतमात्रै खर्च भएको बताए । गत आर्थिक वर्षमा कृषि, वन तथा मत्स्यपालन शीर्षकमा १० अर्ब २३ करोड १२ लाख रुपैयाँ विनियोजन भएकोमा चालु आर्थिक वर्षमा ६ अर्ब ८१ करोड ९१ लाखमात्रै विनियोजन गरिएको छ । प्रदेश सरकारले पशुपंक्षीजन्य उत्पादनमा आत्मनिर्भर प्रदेश बनाउने नीति लिएको भए पनि सो क्षेत्रमा बजेट विनियोजन घट्दै गएको छ । बजेट विनियोजनमा प्राथमिकतामा नपरेको दूध, मासु र अण्डा उत्पादन क्षेत्रको खर्च गर्ने दरसमेत कमजोर छ ।


