धनगढी। नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेपनी भुमि फिर्ता ल्याउन भने पहल गरेको छैन् । सरकारले लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर चुच्चे नक्सा जारी गरेको एक वर्ष बितिसकेको छ। भारतद्धाराअतिक्रमित भू-भाग फिर्ता ल्याउन भने कुनै पहल गरेको छैन्। उल्टै भारतले अतिक्रमित क्षेत्रमा सैनिक उपस्थिति बढाएको छ।
सरकारले गत वर्ष जेठ ५ गते भारतद्धारा अतिक्रमित लिम्पियाधुराको ३ सय ३५ वर्ग किमि समेटेर नयाँ नक्सा जारी गरेको थियो । कालापानी क्षेत्रको ६० बर्ग किमी भू-भाग भने पहिलेदेखि नै नेपालको नक्सामा थियो । सन १९६२ (बि.स.२०१८) मा चीनसंग युद्ध हुदा भारतले नेपालको उत्तरी सीमामा राखेका १८ वटा सैनिक क्याम्प मध्ये १७ वटा क्याम्प २०२६ सालमा फिर्ता लगेको थियो । तर कालापानी क्षेत्रबाट भने सैनिक क्याम्प हटाएन ।
सन् १८१६ मार्च ४ मा तत्कालीन इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धिमा कालीनदी र त्योभन्दा पूर्वको भू(भाग नेपालको हुने उल्लेख थियो । तर भारतले लिपुलेक नजिकबाट बग्ने लिपु खोलालाई काली नदीको मुहान दाबी गर्दै त्यसभन्दा पश्चिमको भू-भाग कब्जा गरेको थियो । नेपालको नयाँ नक्सामा समेटिएका लिम्पियाधुरामाथिबाट बग्ने कालीनदी पूर्वका गुन्जी, नाभी, कुटी र कालापानी क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउदै लगेको भारतलाई रोक्न भने सरकारका तर्फबाट कुटनैतिक तथा अन्य कुनै पहल भएको पाईदैन ।
छाङरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गरिएको छ । जसले महाकाली नदीसंगै सीतापुलको समेत रेखदेख र निगरानी गर्छ । तर अतिक्रमित भू-भाग कालापानीसम्म सशस्त्र प्रहरीलाई जान भारतीय फौजले रोक लगाएको छ । उनीहरु छाङरुबाट करीव ८ किलोमिटरको दूरीमा रहेको कौवासम्म मात्र जान पाउछन् । भारतले अतिक्रमण गरी उसले नै तय गरेको दशगजामा रहेको काली मन्दिर क्षेत्रमा समेत नेपाली सुरक्षाकर्मी टेक्न पाउदैनन ।
भारतले अतिक्रमण गरेको नेपाली भू-भाग भएर चीन जोड्ने सडक निर्माण गरिरहेको छ ।कतिसम्म नेपाली भू-भागमा नेपाली सुरक्षाकर्मीले गस्ती गर्न थाले भारतीय फौजले पछ्याउन थाल्छन । भारत नियन्त्रित भू-भागमा टेक्नुअघि नै भारतीय फौजले त्यहाँ नटेक्न नेपाली सुरक्षाकर्मीहरुलाई धम्कीपूर्ण आग्रह गर्छन । सशस्त्र प्रहरीका एक अधिकृत भन्छन्, केही साताअघि हाम्रो टीम गस्तीका लागि कौवासम्म गएको थियो। त्यहीक्रममा हामी काली मन्दिर क्षेत्रमा जान खोज्दा भारतीय फौजले हामीलाई रोक्दै भन्यो, तपाईहरु अगाडि नबढ्नुस । तपाईहरु यहाँ प्रवेश गरेको कुरा माथि जानकारी भयो भने हामीलाई गाह्रो हुन्छ। त्यसपछि तपाईहरुलाई गाह्रो हुन्छ। भारतीय सुरक्षाफौज त्यही सडक भएर गस्ती र सीमाको निगरानी गर्छ । तर नेपाली सुरक्षाकर्मीहरुलाई भने सडक नहुदा सीमामा गस्ती वा निगरानीका लागि जान कठिनाई भईरहेको छ।