अछाम। अछामको वैद्यनाथ धाममा गुठी जग्गाको विवाद भएपछि स्थानीय प्रदर्शन उत्रिएका छन् । अछामको साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका बासिन्दाले आफूले भोगचलन गर्दै आएको जग्गा सरकारले हडपेको भन्दै प्रदर्शनसुरु गरेका हुन्।
स्थानीयले भोगचलन गरिरहेकै भए पनि जग्गा गुठीकै भएको दाबी सरकारी निकायले बताएको छ । गुठीको जग्गा सरकारले फिर्ता लिने प्रक्रिया सुरु गरेपछि आज शनिबारदेखि स्थानीय बैद्यनाथ धाममा आन्दोलनमा उत्रिएका हुन्। बैद्यनाथ धाम गुठीले आफ्नो जग्गा अतिक्रमण भएको भन्दै फिर्ता लिने तयारी गरेपछि स्थानीयवासी शनिबारदेखि आन्दोलित बनेका हुन्।
२०५८ सालअघि बनेका लालपुर्जाको शीर्ष स्थानमा बैद्यनाथ धाम गुठी भनेर लेखिदिएपछि आफ्नो जग्गालाई हडप्न खोजेको चौरपाटी गाउँपालिका-४ का लोबबहादुर बोहराले बताए। उनले किर्ते कागजात बनाएर हाम्रो भएभरको सबै जग्गा, घर भएको जमिन पनि गुठीले आफ्नो भनेर हडप्ने हडप्न खोजेको आरोप लगाए । उनले भने हाम्रो बाबुबाजेको नाममा लालपुर्जा रहेको बताए। त्यतिबेला हुनेखाने वर्गले गुठीको जगा आफ्नो नाममा गरेको उनले बताए । तर लालपुर्जाको माथिल्लो भागमा गुठी लेखिदिएको छ। उनका अनुसार १७१ लालपुर्जा मा सयौं कित्ता जमिन छ ।बैद्यनाथ धामका संरक्षक हामी हौं । तर सरकारले हामीलाई जबरजस्ती सुकुम्बासी बनाइरहेको उनको भनाई छ।
साँफेबगर नगरपालिका-१ र ९ सँगै चौरपाटी गाउँपालिका–४ का विभिन्न स्थानमा भएका जग्गा गुठीले आफ्नो स्वामित्वको दाबी गर्दै आएको छ। यहाँका १ सय ७१ जनाका लालपुर्जामा जग्गाधनीमा व्यक्तिको नाममा भएपनी लालपुर्जाको शीर्ष स्थानमा बैद्यनाथ धाम गुठी पनि लेखिएको छ। बैद्यनाथ धाम गुठीको नाममा १८५२ सालमा राजा रणबहादुर शाहबाट लगाइएको लालमोहर अनुसार ३ गाउँ र ९ खेत ४० मुरी माटो (करिब एक हजार रोपनी जग्गा) रहेको इतिहास छ।
सरकारले गुठीमा रहेको आफ्नो जग्गा लिने थाहा पाएपछि बैद्यनाथ मन्दिर अगाडि आन्दोनमा सहभागी हुन आएकी साँफेबगर नगरपालिका–१ की ७० वर्षीया गुमा भुलले पटक–पटक सरकारले आफ्नो जग्गा हो भन्दै सताएको बताइन् । गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौंले विभिन्न व्यक्तिहरूले आफ्नो भनी दाबी गर्दै आइरहेको जग्गा गुठीको रहेको फैसला गरिसकेको छ । तर आफ्नो व्यक्तिगत जग्गासमेत गुठीमा परेको भन्दै स्थानीय पटक–पटक गुठी संस्थानको कार्यालय काठमाडौं धाउने गरेका छन् ।
स्थानियका अनुसार १ सय ७१ जना गुठीयारहरूले आफ्नो व्यक्तिगत जग्गा भएको दाबी गर्दै आएका छन् ।बैद्यनाथ धाम गुठीका अनुसार १९८६ सालमा भएको नापीमा मन्दिरको नाममा एक हजार रोपनी जग्गा रहेको देखाएको थियो तर, अहिले गुठीका नाममा १ सय ३७ रोपनी जग्गा मात्र छ। तीन वर्ष पहिले सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले गुठीको जग्गा अतिक्रमण भएको प्रतिवेदन सार्वजनिक गरेपछि जग्गा गुठीको नाममा लैजाने प्रक्रिया सुरु भएको हो। अहिले गुठीको ८ सय ६२ रोपनी ३ पैसा जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ । गुठीमा देखिएको जग्गा व्यक्तिको भएको अवस्थामा नीतिगत निर्णय गरेर नै सरकारले निर्णय गर्नुपर्ने वैद्यनाथ धाम गुठीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले बताए । गुठी एक परोपकारी र सामाजिक संस्था भएका कारणले गुठीको सम्पत्तिलाई सामाजिक रुपमा उपभोग गर्न र लगानी गर्न सक्ने व्यवस्था कानुनले गरेको छ।