काठमाडौँ। नेपालले आइसीसी महिला टी-२० विश्वकपको एसिया छनौटमा विजयी सुरुवात गरेको छ। आज सम्पन्न आयोजक मलेसियाविरुद्धको खेलमा नेपालले ५ रनको रोमाञ्चक जित हासिल गर्दै विश्वकपको एसिया छनौटमा विजयी सुरुबाट गरेको हो।
नेपालले दिएको ८५ रनको लक्ष्य पछाएको मलेसियाको टिम २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनाउन सकेको थियो। मलेसियामाथि ५ रनको जित हासिल गर्ने क्रममा नेपालले तीन खेलाडीलाई रनआउट गरेको थियो । त्यस्तै कविता कुवंर र कविता जोशीले २-२ विकेट लिएका थिए भने रुबिना क्षेत्री र अश्मिना कर्मचार्यले एक एक विकेट लिएका थिए।
यस अघि नेपालले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो। नेपालले अब प्रतियोगितामा दोस्रो खेल शुक्रबार बहराइनविरुद्ध खेल्ने तालिका रहेको छ। सेप्टेम्बर ९ सम्म हुने यस एसिया छनौटमा १२ देशले भाग लिँदै छन्। जसमा नेपाल समूह ए मा रहेको छ। समूह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन्। त्यस्तै समूह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन्।