धनगढी। कैलालीमा दर्ता बिना सञ्चालनमा रहेका दोहोरी साँझ हटाउन स्थानीयले माग गरेका छन्। दर्ता बिना अवैध रुपमा दोहोरी साँझ खोलेर अश्लिल हर्कत गर्ने, जथाभावी बोल्नेदेखि राति अबेरसम्म म्युजिक बजाएर बाधा अवरोध सिर्जना गरेको भन्दै स्थानीयले विरोध गरेका हुन्।
धनगढी उपमहानगरपालिका–४ को बोराडाँडीमा कानुुनी प्रक्रिया नपुगाएर दर्ता समेत नगरी न्यू सुन्दर सुदूरपश्चिम दोहोरी साँझ सञ्चालनमा ल्याएको पाइएको छ । स्थानीय केशव बिष्टले आफूहरुको सहमती समेत नलिएर अवैध रुपमा सञ्चालन गरिएको दोहोरी साँझले घर परिवारलाई बाधा(डिस्टर्व) गरेको भन्दै सञ्चालनमा रोक लगाउनुपर्ने बताए ।स्थानीय केशव बिष्टले उक्त घरमा यसअघि होटल सञ्चालन गरिएको र त्यो बेला पनि अवैध गतिविधि गरिएपछि गाउँ, समाजलाई नराम्रो असर परेको बताए।
उनले अहिले हामी टोल छिमेकीलाई समेत थाहा नदिएर रातारात दर्ता नगरी अवैध रुपमा दोहोरी साँझ खोलिएको बताए । राति अबेरसम्म डिजेमा म्युजिक बजाएर हामीलाई डिस्टर्व गर्ने, जथाभावी अश्लिल हर्कत गर्ने काम भइरहेकोले बन्द गरिनुपर्ने उनले बताए। अर्का स्थानीय डम्बर विष्टले कुनै पनि सरकारी निकायबाट स्वीकृती वा दर्ता नगरी दादागिरी शैलीमा सञ्चालन गरिएको दोहोरी साँझले बालबालिकाहरुमा नकारात्मक असर पार्ने भएकाले स्थानान्तरण गर्नुपर्ने माग टोलबासीको भएको बताउँछन् । दोहोरी साँझ मनोरञ्जन र रमाईलो गर्नका लागि खोलिएपनि रमाईलो गर्ने नाममा टोल छिमेकीलाई बाधा पुगाउने काम गरेको उनले बताए।
कोठाभित्र रमाईलो गर्ने नाममा जथाभावी बोल्ने, त्यही कुरा बाहिर आएर ठूलो ठूलो स्वरमा बोल्ने, म्युजिक जथाभावी बजाउने काम भइरहेका कारण यो यहाँबाट तत्काल हटाउनुपर्ने बताए ।
स्थानीयले आइतबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिदै दोहोरी साँझलाई बन्द गरिदिन माग समेत गरेका छन् । केशब विष्टसमेतका ४२ जनाले निवेदन दिदै सन्धीयारको सहमती बिना सञ्चालन गरिएको दोहोरी साँझमा होहल्ला गर्ने, गालीगलौज जस्ता अनैतिक क्रियाकलाप गर्ने, डिजे माइक बजाएर रातिको समयमा बालबालिकालाई पठनपाठनमा अवरोध गर्ने काम गरेकाले सहज रुपमा जीवन यापन गर्ने वातावरण बनाइदिन आग्रह गरिएको छ।कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कडेलले दोहोरी साँझको विषयलाई लिएर स्थानीयले दिएको निवेदन उपर आवश्यक सहजीकरण गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको बताए । कडेलले दोहोरी साँझ दर्ता बिना सञ्चालन गरिएको पाइएमा तत्काल रोक लगाउने, मापदण्ड पूरा गरे नगरेको हेर्ने र स्थानीयलाई बाधा, अवरोध गरेको पाइएमा कानून बमोजिम कारवाहीको दायरामा ल्याउने बताए। सञ्चालक उत्तमबहादुर चन्दले दोहोरी साँझ दर्ता नगरेर सञ्चालनमा ल्याइएको कुरा स्वीकार गरेका छन् । चन्दले दर्ता प्रक्रियामा रहेको बताउदै केही दिनभित्र पूरा हुने बताएका छन् । तर दोहोरी साँझले स्थानीयलाई हानी नोक्सानी हुने कुनै पनि काम नगरेको बताउदै चन्दले सोहीअनुसारका संरचना निर्माण गरिएको बताएका छन् । उनले म्युजिकको आवाज बाहिर नसुनिका लागी प्रविधिमैत्री हल बनाएको बताए। उनले जथाभावी गतिविधि पनि नगरिएको र स्थानीयलाई बाधा, अवरोध हुने कुनै काम नगरिएको दाबी गरे।