कञ्चनपुर। कञ्चनपुरको तत्कालिन महेन्द्रनगर नगर विकासको जग्गा प्रकरणमा ४ वटा मुद्दाको बिशेष अदालतमा सुनुवाई जारी रहेको छ। जग्गा सम्बन्धी ४ वटैको मुद्दाको आज एकै साथ विशेष अदालतमा सुनुवाई भइरहेको हो।
तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रुपमा किनबेच गरेको आरोपमा मुद्दाको तयारी भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयले जनाएको छ। न्यायाधीश यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र वास्तोलाको इजलास नम्बर २ मा ४ वटै मुद्दाको एकसाथ सुनुवाई भइरहेको हो । अख्तियार दुरुपयोग अनुसनधानले विशेष अदालतमा ती ४ मुद्दाका कूल १ सय ३६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
इजलासमा समितिका तत्कालिन अध्यक्ष कान्तुराम पनेरुसमेत २२ जना र तत्कालिन अध्यक्ष पल्टु रानासहित २५ जनाविरुद्धका मुद्दामा सुनुवाई भइरहेको छ।त्यस्तै, तत्कालिन अध्यक्ष गोपाल रसाइली प्रतिवादी रहेका २ मुद्दाको पनि सोही इजलासमा सुनुवाई भइरहेको छ। पहिलो मुद्दामा रसाइलीसमेत ५२ जना र अर्कोमा उनीसमेत ३७ जना प्रतिवादी रहेका छन्। अदालतको आजको सुनुवाई महत्वपूर्ण रहेको बताइएको छ।
२०३५ मा गठन भएको नगर विकास समितिको नाममा ६३८ बिघा जमिन थियो। तर, हाल समितिको नाममा करिब ६० बिघा मात्रै जमिन बाँकी छ। २०६७ पछि नियुक्त भएका अध्यक्षहरूले आफू निकटका व्यक्तिहरूलाई तोकादेशका आधारमा जमिन बिक्री वितरण गरेका थिए। व्यवस्थित बजारका रूपमा चिनिने महेन्द्रनगर जथाभावी जमिन बिक्री तथा लिजमा दिएकै कारण पछिल्लो समय अव्यवस्थित बन्दै गएको छ।