धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले ढिलो गरी विपत् प्रतिकार्य योजना निर्माण गरेको छ। विपत्को विश्लेषण, पूर्वतयारी, विपत्को समयमा गरिने खोज तथा उद्धार एवं विपत्पश्चात् प्रभावितको व्यवस्थापन कार्य प्रभावकारी बनाउन विपत् प्रतिकार्य योजना निर्माण गरिएको हो ।
यसमा विपत्पश्चात् मानवीय सहयोग एवं पुनर्निर्माण र पुनस्र्थापना क्षेत्रमा गर्न सकिने विषयसमेत समावेश गरिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०७७ सालदेखि विपत् प्रतिकार्य योजना बनाई कार्यान्वयन गर्दै आएको छ। यस वर्ष केही ढिलो गरी कार्ययोजना तयार पारिएको मन्त्रालयका निमित्त सचिव विश्वद्वीप बेस्राले जानकारी दिए।
कार्ययोजनाले बाढीपहिरो र अन्य पानीजन्य प्रकोपको सम्भावित क्षति आकलन गर्न तथा आपत्कालीन अवस्थामा कुन कुन निकायलाई कसरी परिचालित गर्ने भन्ने विषयमा सहजीकरण हुने जनाइएको छ ।जोखिम न्यूनीकरण र पूर्वतयारी कसरी गर्ने, घटना हुनेबित्तिकै कसरी प्रतिकार्य गर्ने जस्ता विषयमा जिम्मेवारी तोकिएको छ । सरोकारवाला निकायसँगको छलफल, प्राविधिक विश्लेषण र विगतको अनुभवका आधारमा जोखिम आकलन गरेर त्यसको पूर्वतयारी र प्रतिकार्यको स्पष्ट खाका कार्ययोजनामा समेटिएको मन्त्रालयले जानकारी दिएको छ।
सुदूरपश्चिम प्रदेश विपत्को हिसाबले उच्च जोखिममा छ । मनसुनको समयमा प्रत्येक वर्ष बाढी, पहिरोलगायतका अन्य पानीजन्य विपत्का कारण जनधनको क्षति हुने गरेको छ। कमजोर भौगर्भिक बनावट भएका पहाडका फेदीहरू र चुरे क्षेत्रबाट बगेर आएको बालुवा तथा ग्राभेल थुप्रिनाले बस्ती तथा कृषियोग्य जमिन कटान हुने गरेको विपत् प्रतिकार्य योजनामा छ। कर्णाली र महाकाली नदी एवं अन्य सहायक नदी र महाभारत तथा चुरे क्षेत्रबाट उत्पत्ति भएका नदीनाला तथा खोल्साहरूले कैलाली र कञ्चनपुर जिल्लालाई प्रभावित गरेका छन्।
जमिन कटान, भूक्षय, भूस्खलनबाट पहाडी जिल्लाहरू प्रभावित हुने गरेका छन्। कुल २६ लाख ९४ हजार ७८३ जनसङ्ख्या रहेको यो प्रदेशमा यस वर्षको मनसुनबाट एक लाख ४७ हजार ६० जना व्यक्ति र ३३ हजार ६५२ घरधुरी प्रभावित हुन सक्ने विपत् प्रतिकार्य योजनामा उल्लेख गरिएको छ। विसं २०६९ देखि २०७९ सम्मको तथ्याङ्क विश्लेषण गर्दा यस प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला उच्च जोखिममा रहेको देखाइएकोे छ। यसै गरी बाजुरा, बझाङ, बैतडी र अछाम पहिरोको उच्च जोखिममा छन्।
कैलाली जिल्लाको पहाडी भूभागसमेत पहिरोको उच्च जोखिममा रहेको उल्लेख छ। यस वर्षको मनसुनजन्य विपत्बाट अछाममा तीन हजार ६६२, बैतडीमा सात हजार ६८५, बझाङमा चार हजार ३१, बाजुरामा आठ हजार ६३१, डडेलधुरामा सात हजार १०५, दार्चुलामा तीन हजार ३५३ र डोटीमा ११ हजार १८ घरधुरी पहिरोबाट प्रभावित हुन सक्ने जनाइएको छ। यस्तै कैलालीमा ४६ हजार ७७३ र कञ्चनपुरमा ५४ हजार ८०२ घरधुरी बाढी तथा डुबानबाट प्रभावित हुन सक्ने उल्लेख गरिएको छ। विगत १० वर्षमा डुबान वा बाढीका १६९ घटना भएका छन्। यसबाट ८० जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते र ६२ जना बेपत्ता भएका थिए।गोरखापत्र