कैलाली। कैलाली र कञ्चनपुरमा तरकारी अभाव हुनुका साथै मूल्य वृद्धि भएको छ। सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरो कारण यातायात सेवा नियमित हुन नसकेपछि सुदुरको तराइका जिल्लामा तरकारी अभाव हुनुका साथै मूल्य वृद्धि भएको हो।
पहिरोका कारण सुदुरपश्चिमका पहाडी जिल्ला बैतडी, डडेल्धुरा र डोटीबाट तरकारी ल्याउन नसकिएको र सडक नियमित सुचारु हुन नसक्दा आयात प्रभावित बनेको छ ।तरकारी उत्पादन गरी बिक्री वितरण गर्ने बेला सडक अवरुद्ध भएपछि किसान मर्कामा परेका छन् । तराईका कैलाली र कञ्चनपुरका सदरमुकाम र आसपासका क्षेत्रका उपभोक्ताले पहाडको तरकारी सहज रुपमा पाउनसक्ने वातावरण तयार हुनसकेको छैन।
महेन्द्रनगरस्थित कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले अहिले पहाडी जिल्लाबाट विगतको तुलानामा आधा जति मात्रै तरकारी आयात भइरहेको जानकारी दिए । उनले दैनिक ४० देखि ५० क्विन्टल पहाडबाट आउने तरकारी अहिले सडक अवरुद्धका कारण मजदुरी लगाएर ढुवानी गराउनुपर्ने र आयात कम हुँदा बजारमा तरकारीको मूल्य वृद्धि हुन पुगेको बताए । मण्डी व्यवसायी सङ्घका अध्यक्ष सोनारले महेन्द्रनगरमा विगत लामो समयदेखि डडेल्धुराको विभिन्न पालिका, डोटीको गैरा, बैतडीको खोड्पे लगायतका स्थानबाट तरकारी आयात हुने गरेको बताए।
सुदूरको पहाडको तरकारी नेपालगञ्ज बुटवलसम्म पनि निर्यात हुने बताउँदै लगातारको वर्षाले किसानको तरकारीबालीमा क्षति पुगेको उनले बताए। यसअघि कैलालीको बुढितोलामा पहिरोका कारण अवरुद्ध भएको सडक सामान्य अस्थायी रुपमा आवतजावतमा सहजता मिल्ने गरी निर्माण गरिएको बताए ।सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुपरभाइजर दिनेश खनालले अझै सो क्षेत्रमा साना सवारीसाधन फस्ने लगायतका समस्या भइरहेको बताए । ठूला सवारीसाधन चल्न समस्या हुने गरेको र पहिरो गएको ठाउँमा तारजाली भरान गरेर अस्थायी रुपमा बाटो सञ्चालनमा ल्याएको उनको भनाई छ।
त्यसका साथै त्यसको विकल्पका रुपमा कञ्चनपुरको दैजी–जोगबुढा सडक सुचारु गर्न पनि काम अघि बढेको छ। यो मौसममा पहाडी जिल्लाबाट फूलकाउली, मुला, धनिया, खुर्सानी, गोलभेडा आलु, बन्दा, निउरो, सिमी र हरियो साग लगायतको तरकारी तराईमा निर्यात हुने गरेको छ। कञ्चनपुरमा अहिले स्थानीय उत्पादन र भारतबाट तरकारी आयात गरिँदै छ। फलफूल व्यवसायी सङ्घ कैलालीका अध्यक्ष हरि भट्टले वर्षाले स्थानीय उत्पादनमा पनि ह्रास आउने अवस्था रहेको बताउँदै उत्पादन कम हुँदा मूल्य वृद्धि हुने गरेको बताए।
यस्तै पहाडी जिल्लाबाट तरकारी आयातमा कमी आउँदा बजारमा तरकारीको अभाव रहेको बताए। दैनिक पहाडबाट ५० क्विन्टल भन्दा बढी आयात हुने तरकारी सडक अवरुद्धको बेला किसानको तरकारी बाटोमै कुहिएको स्थिति भएको बताए । सडककै कारण तरकारी समेत कुहिने, दागी हुने समस्या भइरहेको छ। पहाडबाट तरकारी नियमित नआउँदा भारतबाट गोलभेडा लगायतको तरकारी आयात भैरहेको बताइएको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का वडाध्यक्ष बसन्तबहादुर चटौतले किसानको तरकारी सडकअवरुद्ध हुँदा नोक्सान भएको बताए। हरियो साग,काउली,आलु, टमाटर लगायतका तरकारीको मुल्य बढेको छ। आफ्नै वडामा ५० प्रतिशत किसान तरकारी उत्पादन गर्दै आएका किसानको तरकारी भारतको बरेलीसम्म पुग्ने गरेको र साउनको अन्तिम सातामा किसान धेरै क्षती र मर्कामा बेहोर्नुपरेको उनको भनाई छ।