कञ्चनपुर। कञ्चनपुरमा निर्माण गरिएका जैविक मार्गका संरचना बन्यजन्तुका लागि जोखिम बनेका छन्। संरक्षित क्षेत्र आसपास निर्माण भएका संरचना मानवीय क्रियाकलापसँगै बन्यजन्तुका लागि जोखिम बनेका छन्।
बुधबार राति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ कालापानीमा सेप्टिक ट्यांकीमा फसेर ३०/३५ वर्षको वयस्क हात्तीको मृत्यु भएको छ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको ट्यांकीमा फसेर सो हात्तीको मृत्यु भएको हो। यसअघि गत वर्ष उक्त वातावरण सामुदायिक वन क्षेत्रमै दुई छावाको मृत्यु भएको थियो। गम्भीर घाइते भाले छावाको उद्धार गरिएपनि भेटिएको दोस्रो दिन र हात्तीथलाको बैजनाथ मध्यवर्ती सामुदायिक वनमा घाइते अवस्थामा भेटिएको अर्को छावाको १७ दिनपछि मृत्यु भएको थियो।
गत वर्ष उक्त क्षेत्रमा हात्ती मात्र नभई हात्तीको आक्रमणमा परेर शुक्लाफाँटा नगरपालिका सिमलफाँटाकी एक र बेदकोटको बैजनाथ सामुदायिक वनमा घाँसदाउरा गएकी अर्की महिलागरी २ महिलाले ज्यान गुमाइसकेका छन् । यसरी पछिल्लो ५ वर्षमा लालझाडी मोहना संरक्षित क्षेत्रमा ५ जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। यस्तै दुई वर्षअघि पुनर्वास नगरपालिका–५ को दोदा नदी किनारमा एक वयस्क हात्ती मृत भेटिएको थियो। त्यसको दुई वर्षअघि सोही क्षेत्रमा विद्युतीय धरापमा परेर एक वयस्क हात्तीको मृत्यु भयो।
संरक्षित क्षेत्र आसपास निर्माण भएका संरचना वा मानवीय क्रियाकलाप हात्तीका लागि जोखिम बन्दै गएका छन्। पछिल्लो समयमा सामुदायिक वनभित्रै हात्ती फसेको शौचालयको सेप्टिक ट्यांकी फसेर वा पुनर्वास क्षेत्रमा हात्तीका लागि थापिएको विद्युतीय धरापका कारण मानव–वन्यजन्तु द्वन्द्व बढ्न थालेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रैथाने हात्तीको संख्या १२ हाराहारी छ । यहाँ सिजनअनुसार फिरन्ते हात्ती बढी आउँछन् । भारत उत्तराखण्डको जिम कार्बेटदेखि नन्धौर हुँदै ब्रह्मदेव भएर चुरे फेदी शुक्लाफाँटा पस्ने हात्तीको परम्परागत मार्ग हो ।
यसैगरी शुक्लाफाँटाबाट ढक्का–लालझाडी भएर हात्ती भारतको दुधुवा हुँदै बर्दियासम्म पुग्ने गर्छन्। अहिले यो मार्ग ठाउँठाउँमा खण्डीकरण भएको शुक्लाफाँटा निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए । अहिले सो क्षेत्रमा बनेका विभिन्न संरचना हात्तीका लागि धराप बनेको उनले बताए। कतिपय ठाउँमा मान्छेले नै धराप थाप्ने गर्दा थप समस्या भएको उनले बताए। तुला नामक हात्ती भारतको जिम कार्बेट, नन्धौर र दुधुवा नेसनल पार्कसम्म पुग्ने गरेको उल्लेख छ।
यसैगरी भारतको लग्गाबग्गा संरक्षित क्षेत्रमा समेत उक्त हात्ती विचरण गर्ने उल्लेख छ। अहिले पनि हात्ती सोही मार्गमा हिँड्न खोज्छन् । तर ब्रह्मदेव पारि र वारि दुवैतर्फ घनाबस्ती विस्तार भएका कारण हात्ती आउजाउ गर्न सकेका छैनन्। निकुञ्जभित्र रहेका १०/१२ रैथाने हात्तीसमेत समूहमा निकै कम हिँड्ने गरेका छन्। सिजनअनुसार आउने फिरन्ते हात्ती पनि ३०/३५ देखि ४०/५० को संख्यामा मात्रै देखिने गरेको शुक्लाफाँटा संरक्षण कार्यक्रमका अधिकृत लक्ष्मीराज जोशीले बताए।
उनले जैविक मार्ग मासिँदै जाने भएकाले उक्त क्षेत्रमा निर्माण भएको भौतिक संरचना हात्तीका लागि धराप बन्न थालेका छन्। जैविक मार्गमा बस्ती विस्तारसँगै हात्ती ओहोरदोहोर गर्दा हुने मानवीय क्रियाकलापले समेत द्वन्द्व बढाउने गरेको छ। हात्ती आउनेबित्तिकै नोक्सानै पार्ने तथा दुःख नै दिने भन्ने सोचेर जिस्क्याउने, आगो फाल्ने तथा आक्रोशित बनाउने क्रियाकलाप हुन्छन्। छावासहित भएको हात्ती निकै आक्रामक हुन्छ । त्यो समूहमा भाले भएमा पनि आक्रामक हुन्छ। प्रायः भाले हात्ती ठूलो भएपछि एक्लै हिँड्छ। विगतमा जिस्क्याएको, गाली गरेको ठाउँमा पुगेपछि भाले हात्तीले ती कुरा सम्झेर आक्रमणमा उत्रिने गरेको संरक्षणकर्मी बताएका छन्।